फ्यानको अध्यक्षमा कसजु निर्वाचित

Post Date : September 15, 2016 | 7:41 pm

काठमाडौं, ३० भदौ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को अध्यक्षमा कुमार कसजु श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

फ्यानको २४ औं साधारण सभामा भएको निर्वाचनमा कसजुले संजिब कार्कीलाई ४ मतले पराजितगर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । यसअघि कसजुले फ्यानका उपाध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेको छ ।

त्यस्तै, बरिष्ठ उपाध्यक्षमा दिलिप बादे, उपाध्यक्षमा रामजी तिमिल्सेना र सचिबमा बिश्वमणि पोखरेल बिजयी भएका छन् । उपाध्यक्ष र सचिब पद भने निर्बिरोध भएको जनाएको छ ।

कार्यक्रममा कृषि बिकास मन्त्री गौरीशंकर चौधरीले दुई महिना भित्रै किसान आयोग गठन गर्ने बताउँदै नेपालको कृषि क्षेत्रका समस्या पहिचान तथा समाधानका लागि आयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ भन्नुभयो ।

थोरै लागनीबाट सुरु भएको पुष्प व्यवसायले ठुलो फड्को मार्न सक्नुलाई कृषि क्षेत्रको ठुलै उपलब्धिका रुपमा लिनुपर्ने पनि उहाँले बताउनुभयो ।

निर्वाचत भएपछि संक्षिप्त प्रतिक्रिया दिदैं अध्यक्ष कसजुले पुष्प व्यवसायको विकास विस्तार तथा व्यवसायीको हक हितका पक्षमा आफूले उल्लेख्नीय काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

फुल आयात क्रमश घटाउँदै नेपाललाई यस क्षेत्रमा आत्मनिर्भरताको बाटोमा अघि बढाउनु आफ्नो प्रमुख कार्यभार भएको पनि उहाँले बताउनुभयो ।

एसोसिएसनका अनुसार २०११ सालदेखि सामान्य रुपमा सुरु भएको पुष्प व्यवसाय हाल नेपालको ३९ जिल्लामा फैलिएको छ । व्यवसायिक रुपमा हाल एक सय ४७ हेक्टर क्षेत्रफलमा पुष्प खेती भइरहेको छ ।

प्रत्यक्ष, अप्रत्यक्ष रुपमा ४१ हजारभन्दा बढी किसान पुष्प व्यावसायमा संलग्न रहेको तथा मुलुकमा बर्षेनी झन्डै रु. डेढ अर्ब मूल्य बराबर पुष्पको कारोबार हुने गरेको फ्यानले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *