फ्लोरा एक्स्पो चैत १८ गतेदेखि हुने

Post Date : March 28, 2016 | 4:57 am

फ्लोरिकल्चर एशोसियशनले यहि चैत १८ गतेदेखि काठमाडौमा १९ औं फ्लोरा एक्स्पो गर्ने भएको छ ।

एशोसियशनले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गरी फ्लोरा एक्स्पोको १९ औं संस्करण चैत १८ गतेदेखि २१ गतेसम्म भृकुटीमण्डपमा गर्ने जानकारी दिएको हो । स्वच्छ वातावरण र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने नाराका साथ गर्न लागिएको एक्स्पोमा ६४ वटा स्टल रहने एशोसियशनले जनाएको छ । मौसमी फूल, आलंकारिक बोटविरुवा, कट फ्लावर, सुनाखरी, थोपा सिंचाइ प्रविधि लगायतका स्टल रहने एक्स्पोमा पुष्प व्यवसायीहरुबीच विभिन्न १० वटा विधामा प्रतिस्पर्धा समेत गराइने एशोसियशनका कार्यवाहक अध्यक्ष दिलिप बादेले बताउनुभयो ।

पुष्प व्यवसायको बजार प्रबर्द्धनको उद्देश्यले गर्न लागिएको एक्स्पो ५० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ । नेपालमा हाल विभिन्न ३८ वटा जिल्लामा १ सय ४१ हेक्टर क्षेत्रफलमा व्यवसायिक रुपमा फूलको खेती भइरहेको एशोसियशनले जनाएको छ । गत आर्थिक वर्ष नेपालमा १ अर्ब ३४ करोड १३ लाख ७५ हजार रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो । त्यसमध्ये १० करोड बराबरका फूल र फूलजन्य वस्तु भारत लगायतका मुलुकबाट आयात गरिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *