बक्सिङका विश्व च्याम्पियन मोहम्मद अलिको निधन

Post Date : June 5, 2016 | 7:52 am

लस एन्जेलस (संयुक्त राज्य अमेरिका), २२ जेठ । बक्सिङ खेलका विश्व च्याम्पियन अमेरिकी खेलाडी मोहम्मद अलिको ७४ वर्षको उमेरमा शुक्रबार निधन भएको समाचार छ ।

उहाँका पारिवारिक प्रवक्ताले अलिको शुक्रबार निधन भएको समाचार दिनुभएको छ । प्रवक्ता बब गुनेलले शनिबार सो समाचार सार्वजनिक गर्नुभएको बताइएको छ ।

उहाँ गएको करिब ३२ वर्षदेखि नै पार्किन्सन रोगबाट पीडित हुनुहुन्थ्यो । पछिल्लो समयमा स्वासप्रस्वाससम्बन्धी संक्रमणबाट पीडित अलिलाई अमेरिकाको एरिजोना राज्यको फोनिक्समा अवस्थित अस्पतालमा राखिएको थियो ।

उहाँ बक्सिङको च्याम्पियनका रुपमा मात्र विश्वमा चर्चित नभएर नागरिक अधिकारका लागि लड्ने अभियन्ताका रुपमा पनि परिचित हुनुभएको थियो ।

उहाँले सन् २०१४ देखि नै अधिकांश समय अस्पतालमा बिताउदै आउनुभएको थियो । उहाँका पछिल्लो समयमा धेरैजसो दिन उपचारका लागि अस्पतालमै बितेका प्रवक्ताले बताउनुभएको छ ।

उहाँले पार्किन्सन रोगको उपचारका लागि पनि कोष खडागर्नेजस्तो सामाजिक काममा अभियन्ताका रुपमा काम गर्नुभएको थियो ।

उहाँले पछिल्लो समयमा अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले मुस्लिम नागरिकको भावना विपरीत अभिव्यक्ति दिनुभएको भन्दै कडा आपत्ति जनाउनुभएको थियो ।

अमेरिकामा मुस्लिम विरोधी भावना फैलिएको भन्दै त्यसको विरुद्ध उहाँले नागरिक अधिकारका लागि पनि सार्वजनिक अभिव्यक्ति दिने गर्नुभएको थियो ।

उहाँले सन् १९८१ मा बक्सिङ खेलबाट अवकास लिनुभएको थियो । बक्सिङ् खेलमा संसारमा ख्याति कमाएका उहाँको कीर्तिमानी वश्वमा लगभग तीन दशकसम्म नै कायम रहेको थियो । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *