बङ्गुरपालनबाट वार्षिक दश लाख आम्दानी

Post Date : March 20, 2017 | 5:16 pm

बाबियाचौर (म्याग्दी), ७ चैत । मालिका गाउँपालिका–५ दरवाङका खिमबहादुर खत्रीले बङ्गुरपालनबाट वार्षिक रु दश लाख आम्दानी गर्दैआउनुभएको छ ।

कतारमा तीन वर्ष काम गरेर फर्किनुभएका खत्रीले रु ५० हजार लागतमा फार्म सञ्चालन गर्नुभएको हो । तीनवटा पाठापाठीबाट सुरु गरेको सो बङ्गुर फार्मको पुँजी अहिले रु ३० लाख पुगेको छ ।

हाल उहाँको फार्ममा ५० वटा बङ्गुर रहेका छन् । उहाँले वार्षिक १२५ वटाभन्दा बढी बङ्गुर र पाठापाठी बिक्री गर्दैआउनुभएको छ । उहाँको फार्ममा छजनाले रोजगारी पाएका छन् । पाठापाठी पाल्नका लागि तथा हुर्किएर ठूला भएका बङ्गुर मासुका लागि बिक्री गर्दै आएको उहाँले बताउनुभयो ।

कम लगानीमा छिटो आम्दानी लिनका लागि बङ्गुरपालन उपयोगी माध्यम भएको खत्रीको भनाइ छ । उहाँलाई जिल्ला पशुसेवा कार्यालयले गत वर्ष युवा स्वरोजगार कार्यक्रमअन्तर्गत रु एक लाख अनुदान उपलब्ध गराएको थियो । सरकारले सहज रुपमा सर्भसुलभ ब्याजदरमा ऋण र बजार व्यवस्थापनका लागि सहयोग गर्न सके स्वदेशमै उद्यम व्यवसाय गर्ने वातावरण बन्ने खत्री बताउनुहुन्छ । बङ्गुरपालनसँगै उहाँले कुखुरापालन समेत गर्दैआउनुभएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *