बङ्गुरपालन व्यवसायले परिवारमा खुसी ल्यायो

Post Date : December 4, 2016 | 1:32 pm

पाल्पा, १९ मङ्सिर । विदेशमा श्रमको मूल्य नपाउँदाको पीडा कस्तो होला ? ऋण खोजेर कतार पुग्नुभएका पाल्पा चाँपपानी गाविस– ५, चुनडाँडाका कोशल गाहाले व्यहोर्नु परेको घटना हो ।

कतारमा पैसा कमाएर ल्याउने आस गर्नुभएका गाहाले घरमा फर्कने बेला एक महिनाको तलब पाउनुभएन । तलब नपाएपछि कम्पनीका सबै साथीसँग मिलेर आन्दोलन गर्दा उहाँ प्रहरी नियन्त्रणमा तीन दिनसम्म बस्नुप¥यो ।

विदेशमा भएको दुःख र कष्टले घर फर्किन बाध्य गरायो र यहाँ आएपछि केही बङ्गुरका पाठी किनेर व्यावसायिक बङ्गुरपालनले बिस्तारै गाहाको दिनचार्यामा परिवर्तन आउन थालेको हो

ऋण खोजेर परदेशिएकालाई तलब नपाउँदाको पीडा कम हुँदैन । त्यही पीडा सम्झेर बङ्गुरपालन गर्न थालेका उहाँ अहिले जिल्लाकै बङ्गुरपालन गर्ने नमुना किसान हुनुहुन्छ । फार्ममा बङ्गुरका पाठापाठी बाह्रौमहिना खेलिरहदाँ गाहालाई रमाइलो लाग्छ । पीडाले पाठ सिकाएपछि बङ्गुरपालन गर्न थालेसँगै भएको आम्दानीले परिवारमा पनि खुसी ल्याएको उहाँ बताउँनुहुन्छ ।

यस भेगमा बङ्गुर बिरामी भएमा गाहालाई सोध्न आउँछन् । बङ्गुरले दानापानी खाएन, दिसापिसाब भएन, मुखभरि रयाल निकाल्यो, अब के गर्ने भन्दै उहाँको घरमा गाउँलेको फोन आइरहन्छ ।

गाहाले टेलिफोनबाट नै सबै प्रकारका समस्या समाधान पनि गर्दै आउनुभएको छ । तिनलाई औषधिमुलो गर्ने मात्र होइन बङ्गुरले बच्चा पाउन सकेन भने शल्यक्रिया गरी बच्चा निकाल्न पनि पशुचिकित्सकको साहायता उहाँलाई चाहिदँैन ।

सामान्य लेखपढन गरे पनि गाहामा बङ्गुर सम्बन्धी राम्रो ज्ञान छ । घरमा भएको पाँच सातवटा बङ्गुरको माउ, पाठी र एउटा भाले बङ्गुरले नै गाहाको परिवारमा खुसी ल्याएको हो ।

मासिक सरदर सातसय रियलका लागि कतारमा विद्युत् वाइरिङको काम गर्न झन्डै दुई वर्ष परदेशिनुभएका उहाँ फर्केपछि वार्षिक रु पाँच सात लाखसम्म आम्दानी गर्न सफल हुनुुभएको हो ।

एक बेतमा एउटा बङ्गुरले १५ वटासम्म पाठापाठी पाउँछ । पाठापाठी उत्पादन गरी बेच्ने नै गाहाको प्रमुख व्यवसाय हो । एउटा पाठापाठी रु तीन हजार ५०० देखि रु चार हजारमा घरबाटै बिक्री हुन्छ । यहाँ उत्पादित बङ्गुरका पाठापाठी जिल्ला बाहिर रुपन्देही, कपिलबस्तु, अर्घाखाँची र नवलपरासीमा पनि निर्यात हुँदै आएको छ । (कृष्ण दर्नाल) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *