बचत फिर्ता गर्न नसक्दा सहकारी बन्द

Post Date : May 21, 2016 | 11:59 am

बाबियाचौर (म्याग्दी), ८ जेठ । सर्वसाधारणबाट सङ्कलन गरेको बचत फिर्ता गर्न नसकेपछि बेनीको एक सहकारी संस्थाको कार्यालय एक सातादेखि बन्द भएको छ ।

बेनी नगरपालिका–७ कोटभण्डार टोलमा रहेको सम्बृद्ध कृषि सहकारी संस्था कमजोर व्यवस्थापन, सञ्चालकबीच विवाद, सेयर सदस्यको बेवास्ता, सहकारीसम्बन्धी अनुभवको कमीका कारण घाटामा गई बन्द भएको हो ।

बिना सूचना एक हप्तादेखि सहकारीको कार्यालय बन्द भएपछि सहकारीमा बजार प्रतिनिधिमार्फत दैनिक बचत गरेका सर्वसाधारण बचतकर्ता मर्कामा परेका छन् । सहकारीमा दैनिकजसो बचतकर्ता आफूले राखेको रकम फिर्ता लिन आउने गरे पनि बन्द भएकाले रित्तै फर्कन बाध्य भएका छन् ।

सहकारीमा रकम बचत गर्नुभएका बेनी न्युरोडका व्यवसायी राजु बानियाँले बिना सूचना सहकारी बन्द भएको, कर्मचारी र सञ्चालक सम्र्पकमा नरहेकाले बचतकर्ता चिन्तित भएका बताउनुभयो । विसं २०७१ मा स्थापना भएको सहकारीको कार्यालय २०७३ को जेठ महिनाको सुरुदेखिनै बन्द भएको हो ।

सञ्चालक र कर्मचारीले सहकारी बन्द भएकोबारे कसैलाई पनि कुनै सूचना दिएका छैनन् । संस्थाले १० प्रतिशतका दरले ब्याज दिने भनेर बचत सङ्कलन गरेको थियो । गणेशटोलका बचतकर्ता लोकनाथ सुवेदीले सहकारीमा रहेको पैसा फिर्ता लिन जाँदा संस्था बन्द भएकाले रित्तै फर्किएको बताउनुभयो ।

सहकारी डिभिजन कार्यालय बागलुङको अभिलेखअनुसार ८६ जना सेयर सदस्यले रु १० हजारका दरले सङ्कलन गरेर संस्था स्थापना गरेका थिए । उक्त सहकारीमा बेनी बजारका १०० जनाभन्दा बढीको रु तीन लाख भन्दा बढी बचत रहेको छ । संस्थाले सहकारी ऐन विपरीत गैर सेयर सदस्यसँग पनि कारोबार गरेको छ ।

संस्थाको आन्तरिक समस्याका कारण बचतकर्तालाई फिर्ता दिने पैसा नभएकाले व्यवहार मिलाउनका लागि बन्द गरिएको सञ्चालक समितिका कोषाध्यक्ष रेशम रामदामले बताउनुभयो । “नयाँ थपिएका सेयर सदस्यको रकम कार्यालय व्यवस्थापन गर्दा, घरभाडा तिर्दा र कर्मचारीलाई आठ महिनाको तलब दिँदा सकियो” रामदामले भन्नुभयो “लगानीमा रहेको पैसा भनेको समयमा उठ्न नसक्दा बचतकर्तालाई फिर्ता दिन सकिएको छैन् ।”

धेरैजना बचतकर्ता एकैपटक बचत फिर्ता लिन आएकाले भुक्तानी दिन समस्या भएको दाबी गर्दै उहाँले पुरानो समितिले रु तीन लाख घाटा गराएको आरोप लगाउनुभयो । सञ्चालकले सेयर सदस्यबाट पैसा उठाएर भए पनि बचतकर्ताको पैसा फिर्ता दिने प्रतिबद्धता जनाएका छन् ।

संस्थाको पैसा हिनामिना गरेको आरोप लागेका वर्तमान सञ्चालक समितिको लेखा उपसमितिका संयोजक याम किसानले संस्थाको विधान र कार्ययोजनाअनुसार नचल्दा यस्तो अवस्था आएको जिकिर गर्नुभयो ।

सहकारी डिभिजन कार्यालय बागलुङका प्रमुख विष्णुप्रसाद शर्माले सर्वसाधारणबाट पैसा उठाएर भनेको समयमा फिर्ता नगर्नु सहकारी ऐनअनुसार अपराध भएको बताउँदै बचत रकम जुनसुकै किसिमले फिर्ता गर्नुपर्ने बताउनुभयो ।

जिल्ला सहकारी सङ्घले संस्थाको विवाद समाधान गरी बचत फिर्ता गर्ने वातावरण बनाउन पहल गरेको जनाएको छ । सञ्चालकसँग छलफल गरेर संस्थालाई व्यवस्थित रुपमा सञ्चालन गर्न र बचत कर्ताको रकम फिर्ता गराउन पहल गरेको सहकारी सङ्घका अध्यक्ष दीपक कार्कीले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *