बजार अनुगमन व्यावहारिक बनाउन निजी क्षेत्रको आग्रह

Post Date : August 23, 2016 | 8:03 pm

काठमाडौँ, ७ भदौ । पछिल्लो समय सरकारले गरेको बजार अनुगमन कार्यलाई व्यवस्थित गर्न निजी क्षेत्रले आग्रह गरेको छ ।

नेपाल चेम्बर अफ कमर्सले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा नेपाल उद्योग वाणिज्य महासङ्घ, चेम्बर, नेपाल उद्योग परिसङ्घलगायतका संस्थाले अनुगमनका नाममा व्यापारीलाई आतङ्कित गराएको आरोप लगाएका थिए ।

अनुगमनमा जाने सरकारी अधिकारीको व्यवहार आपत्तिजनक र व्यापारीको अपमान गर्नेतर्फ उत्प्रेरित भएको भन्दै उनीहरुले त्यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिएका हुन् ।

व्यवसायीको आग्रहपछि आपूर्ति सचिव श्रीधर सापकोटाले निजी क्षेत्रलाई कहिले पनि अपमान नगरेको स्पष्ट पार्दै व्यापारका नाममा गलत गर्नेलाई कानुनी दायरामा ल्याउन अनुगमन गरिएको बताउनुभयो । उहाँले अपमानजनक व्यवहार गर्ने सरकारी अधिकारीलाई कारबाही गरिनेछ भन्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले भन्नुभयो, “अनुगमनमा जानेले व्यापारीलाई अपराधीजस्तो गर्नु भएन, व्यापारीलाई अपमान गरेर अनुगमन हुँदैन ।”

चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अनुगमनमा जाने सरकारी अधिकारीलाई अनुगमनको पद्धति एवम् नियमका विषयमा प्रष्ट पारेर पठाउन आग्रह गर्नुभयो ।

खुद्रा व्यवसायी सङ्घका अध्यक्ष पवित्रामान बज्राचार्यले बजार अनुगमनलाई व्यवसायीमैत्री बनाउन आग्रह गर्नुभयो ।

अन्तक्र्रियमा अन्य सहभागी व्यवसायीले म्याद नाघेका खाद्य सामग्री अलग्गै राख्न पाउनुपर्ने, भण्डारणको समयसीमा तोकिनुपर्ने, अनुगमनका लागि स्थायी संयन्त्र बनाउनुपर्नेलगायतका माग राखेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *