बजार नपाउँदा किसान चिन्तित

Post Date : November 22, 2016 | 4:15 pm

बेँसीसहर (लमजुङ), ७ मङ्सिर । बजार अभावका कारण यहाँका बङ्गुरपालक किसान चिन्तित भएका छन् ।

सदरमुकामसहित जिल्लाका विभिन्न स्थानमा बङ्गुरका बच्चा तथा मासुको खपत हुन नसक्दा किसान मारका परेका हुन् । बङ्गुरपालन गर्दै आउनुभएका बेँसीसहरका नारायणबहादुर थापा तीन वर्षसम्म पनि लगानी उठ्न नसकेको बताउनुहुन्छ ।

उहाँको खोरमा वार्षिक १५० भन्दा बढी बङ्गुरका बच्चा उत्पादन हुने गरेका छन् । “बिक्री गर्न बजारको समस्या छ,” उहाँले भन्नुभयो । पहिला गाउँ गाउँबाट बङ्गुरका बच्चा खरिद गर्नका निम्ति व्यापारी आउने गरेका भए पनि अहिले बाहिरबाट सस्तोमा गाउँमै पु¥याइदिने गरेका छन् ।

बाहिरी जिल्लाबाट सस्तो मूल्यमा बङ्गुरका बच्चा आउँदा मारमा परेको उहाँको भनाइ छ । “बजार नपाउँदा व्यवसाय छोड्ने कि निरन्तरता दिने भन्ने दोधारमा परेको छु,” उहाँले भन्नुभयो । उहाँले तीन वर्षअघि रु आठ लाखको लागतमा बङ्गुरपालन व्यवसाय सुरु गर्नुभएको हो ।

यस्तै बङ्गुरपालनबाट मनग्य आम्दानी हुने आशा राखेर व्यवसाय सुरु गर्नुभएका खुदीका प्रेमबहादुर गुरुङ पनि बजार नपाउँदा चिन्तित हुनुभएको छ । उहाँले रु १५ लाख लगानी गरेर फार्म सञ्चालन गर्नुभएको छ । “चार वर्षसम्म पनि लगानी उठाउन सकेको छैन,” उहाँले भन्नुभयो ।

मासिक रु ७५ हजारभन्दा बढी खर्च हुने गरेको गुरुङले बताउनुभयो । “व्यवसाय छोडे लगानी डुब्ने खतरा छ,” उहाँले भन्नुभयो । सस्तो मूल्यमा जिल्ला बाहिरबाट बच्चा निर्यात हुने र मासु खपत नहुँदा व्यवसायी मारमा छन् । उहाँको फार्ममा वार्षिक २०० को हाराहारीमा बङ्गुरका बच्चा उत्पादन हुने गरेको छ ।

जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा लक्ष्मण ढकाल व्यवसायीलाई मर्का नपर्ने गरी मूल्य कायम गर्न सके राहत मिल्ने बताउनुहुन्छ । व्यावसायिक बङ्गुरपालनका निम्ति विशेष कार्यक्रम ल्याउन लागिएको उहाँको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *