बजेट तर्जुमाको आधार पेश गर्न पर्यटन बोर्डलाई संसदीय समितिको निर्देशन

Post Date : April 6, 2016 | 1:14 pm

व्यवस्थापिका संसद्को अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नेपाल पर्यटन बोर्डको चालु आर्थिक वर्षको बजेट स्पष्ट मापदण्डविनाको भएको भन्दै बजेट विनियोजका आधार पेश गर्न पर्यटन मन्त्रालय र बोर्डलाई निर्देशन दिएको छ ।

समितिले बुधबार पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल, मन्त्रालयका सचिव प्रेमकुमार राई र बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक जोशीलाई बोलाएर छलफल गरी बजेट तर्जुमाका ठोस आधार पेश गर्न निर्देशन दिएको हो । पर्यटन बोर्डले पर्यटन बजार व्यवस्थापन, प्रबद्र्धन र प्रचार प्रसारमा ३७ करोड ६२ लाख रुपैयाँ खर्च गर्ने गरी चालु आर्थिक वर्षका लागि ८४ करोड ८० लाख रुपैयाँ बजेट स्वीकृत गरेको छ । समितिले बोर्डले मुलुकको भौगोलिक बनोट र पर्यटकीय गन्तव्यमा पूर्वाधारको विकासलाई बेवास्ता गरी बजेट तर्जुमा गरेको भन्दै बजेट निर्माणका आधारबारे एक साताभित्र लिखित धारणा पेश गर्न निर्देशन दिएको समितिका सभापति प्रभु साहले जानकारी दिनुभयो ।

समितिले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा पर्यटन नीतिले लिएका लक्ष्य र क्षेत्रीय सन्तुलनलाई ख्याल गर्न तथा पर्यटकबाट उठाइने शुल्क पर्यटकहरुलाई अधिकतम सुविधा दिने काममा खर्च गर्न पनि निर्देशन दिएको छ । समितिले नेपाल ट्रेकिङ्ग एजेण्टस् एशोसियशन अफ नेपाल (टान) लाई पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) वापतको रकम नदिन दिएको निर्देशन कार्यान्वयन नगर्नुको कारण पेश गर्न समेत निर्देशन दिएको छ । समितिले टानले टिम्स अन्र्तगतको खर्चको लेखापरीक्षण नगरेको भन्दै टिम्सको रकम निकासा रोक्न बोर्डलाई यसअघि निर्देशन दिएको थियो । निर्देशन कार्यान्वयन नगरेको बारेमा जवाफ दिन समितिले बोर्डलाई एक साताको समय दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *