बाइस लाख नयाँ निक्षेप खाता थपिए

Post Date : July 11, 2017 | 2:41 pm

काठमाडौँ, २७ असार । सरकारले ‘एक व्यक्ति एक खाताको नीति’ सार्वजनिक गरी कडाइका साथ लागू गर्न थालेपछि नयाँ २२ लाख निक्षेप खाता खोलिएको छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार २०७३ जेठ मसान्तसम्म निक्षेप खाता संख्या एक करोड ६६ लाख रहेकामा २०७३ चैत मसान्तसम्म निक्षेप खाता सङ्ख्या एक करोड ८८ लाख पुगेको छ ।

सरकारले चालु आवको बजेट वक्तव्यमा एक व्यक्ति एक खाताको नीति अगाडि सारेको थियो । सो नीति आगामी आवमा पनि निरन्तर रहनेछ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको आव २०७४/७५ को मौद्रिक नीतिअनुसार प्रत्येक वर्ष निक्षेप खाता खोल्नेको संख्यामा बढोत्तरी भएको उल्लेख छ ।

बैङ्कका अनुसार २०७३ जेठ मसान्तसम्म कर्जा संख्या १० लाख ९५ हजार रहेकामा गत चैतसम्म सो संख्या ११ लाख ८३ हजार पुगेको छ । सरल र सहज बैङ्किङ प्रणालीको साधानका रुपमा लिइने एटिएम मेसिनको संख्या पनि बढ्दै गएको छ । गत आवमा एक हजार ८५९ एटिएम रहेकामा यस वर्ष एटिएम सङ्ख्या दुई हजार ४७ पुगेको छ ।

यसैगरी मोबाइल बैङ्किङका ग्राहकको संख्या २४ लाख २७ हजार पुगेको छ । इन्टरनेट बैङ्किङका ग्राहकको संख्या सात लाख ३५ हजार, जारी भएका बिट कार्डको संख्या ५१ लाख आठ हजार तथा क्रेडिट कार्डको संख्या ६४ हजार पुगेको राष्ट्र बैङ्कले जनाएको छ ।

बैङ्क तथा वित्तीय संस्थालाई एकीकृत गर्ने नीतिअनुसार २०७३ जेठ मसान्तसम्ममा ‘क’ वर्गका वाणिज्य बैङ्क २९ रहेकामा यस वर्ष २८ वटामा सीमित रहेको छ । ‘ख’ वर्गका विकास बैङ्क ६८ रहेकामा यस वर्ष २४ ले घटेर ४४ वटा कायम भएका छन् । ‘ग’ वर्गका वित्त कम्पनी ४४ रहेकामा १३ ले घटेर ३० र ‘घ’ वर्गका लघुवित्त संस्था ४१ रहेकामा १० वटाले बढेर यस वर्ष ५१ पुगेका छन् । गत वर्ष बैङ्क तथा वित्तीय संस्थाको कुल संख्या १८२ रहेकामा यस वर्ष घटेर १५३ वटा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार २०७३ जेठमा बैङ्क तथा वित्तीय संस्थाको प्रति शाखाबाट औसतमा करिब छ हजार ६४७ जनसंख्याले सेवा प्राप्त गरेकामा यस वर्ष एक शाखाबाट पाँच हजार ८०९ जनाले सेवा प्राप्त गरेका छन् । विसं २०७२ जेठमा जनसंख्या र बैङ्क तथा वित्तीय संस्थाको प्रतिशाखाको औसत अनुपात सात हजार २३२ रहेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *