बाख्रा स्रोतकेन्द्रको विकास

Post Date : March 18, 2017 | 1:36 pm

मलेखु (धादिङ), ५ चैत । बजारमा खसीबोकाको मासुको माग बढ्दै गएको अवस्थामा चैनपुरवासी बाख्रा स्रोत केन्द्रको विकासमा अघि बढेका छन् ।

दुई वर्षअघि दुई माउ र छ पाठा बाख्रापालन गर्नुपर्छ भनेर लागेकी चैनपुरकी लालमाया शाक्य अहिले बाख्रा व्यवसायीका रुपमा परिचित भएकी छन् । उनीसँग अहिले २९ बाख्रा छ । बाख्राका सुधारिएका राम्रा खोर बनाइएको छ । खरी जातको बाख्रा गोठमा पाल्न थालेपछि आम्दानी बढेको र यस वर्ष मात्र १२ ब्याडबाख्रा(पाठापाठी)बिक्री गरेको उहाँले बताउनुभयो । घरको आम्दानीले खान नपुगेपछि उहाँका श्रीमान् भारतमा काम गर्न जानुभयो । छोरी र आमा मिलेर गाउँमा गरिएको व्यवसायले उनीहरुमा आम्दानी र सुख मिलेको छ ।

शाक्य मात्र होइन हुलाकभन्ज्याङ निवासी मनकुमारी बाणको खोरमा अहिले ११ बाख्रा छ । उहाँले घर जस्तै गरी सफा पारिएको आधुनिक खोर बनाउनुभएको छ । भूकम्पले थिलथिलो पारेको अवस्थामा पनि वाणले घरसँगै बनाइएको बाख्राको खोर दिनदिनै सफा गर्ने र हरेक महिना बाख्रालाई जुकालगायत औषधि खुवाएर बाख्रापालन व्यवसाय गरिरहनुभएको छ ।

बाख्रापालन सुरु गर्दा तत्कालीन चैनपुर गाविसमा पाँच हजार दुई सय बाख्रा भएकामा हाल पाठाबाख्राको सङ्ख्यासमेत थप गर्दा १४ हजार बाख्रा भएको तथ्याङ्क छ । चैनपुर गाविसलाई अहिले बाख्रा स्रोत केन्द्रका रुपमा विकास गरिएको चैनपुर सामाजिक उद्यमी महिला सहकारी संस्थाका व्यवस्थापक निरमाया राना मास्कीले बताउनुभयो । एक हजार दुई सय १७ सेयर सदस्य रहेको सहकारीले चैनपुर गाविसलाई बाख्रा स्रोत केन्द्रको विकास गरी सबै घरधुरी समेटेर महिलाको आम्दानी बढाउन लागिपरेको मास्कीको भनाइ छ ।

हेफर इन्टरनेसनलले फोकस नेपालमार्फत साना किसान सबलीकरण परियोजना सञ्चालन गरेपछि सालबासमा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ । सबै घरमा बाख्राको खोर बनाउने र हरेक घरमा घाँस उत्पादन गरी बाख्राबाट नै चैनपुरको विकासमा लागिपर्ने सहकारीको प्रतिबद्धता छ । हाल चैनपुरका सात सय घरमा आधुनिक घर निर्माण गरी बाख्रापालन सुरु गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *