बागलुङमा विद्युतीय रिक्सा

Post Date : May 26, 2016 | 11:34 am

बागलुङ, १३ जेठ । बागलुङ बजारवासीलाई लक्षित गरी यातायात व्यवसायीहरुले विद्युतीय रिक्सा सञ्चालनमा ल्याएका छन् । दैनिक पाँचवटा रिक्साले सर्वसाधारण यात्रुलाई सेवा दिइरहेका छन् ।

बागलुङ कालिका भगवती यातायात प्रालिको पहलमा विद्युतीय रिक्सा ल्याइएको हो । एउटा रिक्साको रु तीन लाख मूल्य परेको प्रालिका वरिष्ठ उपाध्यक्ष डिलबहादुर पराजुलीले बताउनुभयो ।

छजना यात्रु बोक्ने क्षमताको रिक्सामा सामान पनि ढुवानी गर्न सकिने व्यवस्था छ । रिक्सा सञ्चालनमा आएसँगै जरुरी कामका लागि लामो पैदल यात्रा गर्नुपर्ने झन्झटबाट यात्रुले मुक्ति पाएका छन् ।

घरदैलो सेवामार्फत घर घरमा सामानसहित यात्रु पु¥याउने व्यवस्था गरिएको रिक्सा चालक सोमबहादुर बोहराले बताउनुभयो । बजार क्षेत्रका सबै ठाउँमा रिक्साले सेवा दिइरहेको उहाँको भनाइ छ । बागलुङ कालिका भगवती मन्दिर, आँखा अस्पताल, बसपार्क, जिपपार्क, धवलागिरि अञ्चल अस्पताललगायतका क्षेत्रमा पुग्न यात्रुहरुको बढी चाप हुने गरेको छ ।

बजार क्षेत्रमा प्रतियात्रु रु २० र अलि लामो दूरीमा रु ५० भाडा लिने गरेको चालकहरु बताउँछन् । ट्राफिक प्रहरीले ‘रुट परमिट’ लिएरमात्र रिक्सा सञ्चालनमा ल्याउन आग्रह गरेपछि त्यसको प्रक्रिया अघि बढेको छ । रिक्सालाई यातायात व्यवस्था कार्यालयमा दर्ता गरिने जनाइएको छ ।
विद्युतीय रिक्सा सञ्चालनमा आएपछि फुर्सदमा बजार घुम्ने यात्रुको सङ्ख्या पनि बढेको छ । बजार क्षेत्रमा ‘रिजर्व’ को पनि व्यवस्था गरिएको छ । एउटा रिक्साले अहिले दैनिक दुई हजारसम्म कमाइ गरेको छ । रिक्साले व्यवसायी र चालकको आयआर्जन पनि बढाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *