बागलुङ–काठमाडौँ पर्यटक बस सञ्चालन

Post Date : November 16, 2016 | 3:27 pm

बागलुङ, १ मङ्सिर । बागलुङदेखि काठमाडौँसम्म पर्यटक बस सञ्चालनमा आएको छ । यात्रुलाई स्तरीय सेवा दिन धवलागिरि अञ्चल यातायात बस व्यवसायी समितिले बस सेवा सुरु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले आज यहाँ आयोजित कार्यक्रममा सो बस सेवा शुभारम्भ गर्नुभयो । ‘रोडवेज् टुर्स एन्ड ट्राभल्स’ प्रालिसँगको सहकार्यमा पर्यटक बस सञ्चालनमा ल्याइएको समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बागलुङमै पहिलोपटक हरियो नम्बर प्लेटको पर्यटक बस सञ्चालनमा आएको हो । यात्रुले हाल सञ्चालनमा रहेका बसमा भन्दा पर्यटक बसमा अतिरिक्त सेवासुविधा पाउनेछन् ।

“बसभित्रै शौचालयको सुविधा छ, यात्रुलाई चिया, कफी, खाजा बसभित्रै उपलब्ध हुन्छ”, अध्यक्ष खड्काले भन्नुभयो । ‘एसी’ सुविधा भएको बसमा ‘रेफ्रिजेरेटर’ पनि राखिएको छ ।

अन्य बसको तुलनामा पर्यटक बसको सिट चौडा र आरामदायी रहेको समितिका महासचिव उमेश केसीले बताउनुभयो । समितिले बसको एकतर्फी भाडा रु एक हजार दुई सय कायम गरिएको छ ।

ज्येष्ठ नागरिक, अपाङ्ग र असहायलाई भाडादरमा ३३ प्रतिशत छुट गरिएको छ । ३० सिट क्षमताका दुईवटा बसबाट सेवा सञ्चालन गरिएको समितिले जनाएको छ । प्रत्येक दिन बागलुङबाट बिहान ७ बजे र काठमाडौँ सुन्धाराबाट बिहान साढे ६ बजे बस छुट्नेछ । बस सेवाबाट बागलुङलगायत धवलागिरि क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक र यात्रुले लाभ लिनेछन् ।

बुधबार बिहान छुटेको पहिलो बसका यात्रुलाई प्रजिअ पाण्डेय र समितिका पदाधिकारीले सम्मानसहित बिदाइ गरेका थिए । समितिले बुधबारदेखि नै बागलुङदेखि रौतहटको गौर र म्याग्दी बेनीदेखि भद्रपुरसम्मका लागि ‘डिलक्स’ बस सेवा सञ्चालन गरेको छ । समितिले बागलुङ–नयाँदिल्लीदेखि देशभित्र लामो तथा छोटो दूरी गरी चार सय बस बस पनि सञ्चालनमा ल्याएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *