बाह्रवटा सहकारी खारेज

Post Date : October 25, 2016 | 2:47 pm

भीमदत्तनगर, ९ कात्तिक । नियमित लेखापरीक्षण र कारोबार विवरण नपठाउने तथा ऐन नियम पालना नगर्ने यहाँका १२ वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ ।

डिभिजन सहकारी कार्यालय कञ्चनपुरले गत आवमा कञ्चनपुरका सात र डडेल्धुराका पाँचवटा सहकारी खारेज गरेको हो । नियमित लेखापरीक्षण नगर्ने तथा कारोबार विवरण नपठाउने दुवै जिल्लाका ९१ वटा सहकारीलाई सजग गराएको डिभिजन सहकारी कार्यालयका सहकारी अधिकृत रामबहादुर खातीले जानकारी दिनुभयो ।

कार्यालयले डडेल्धुराका ४७ र कञ्चनपुरका ४४ वटा सहकारीलाई सहकारी नियम पालना गरी लेखापरीक्षण गराई विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको छ । “सूचना जारी गरेपछि केही सहकारी सम्र्पकमा आएर विवरण बुझाउन तयार भएका छन्,” उहाँले भन्नुभयो– “अटेर गर्ने सहकारीलाई चालु आवको अन्त्यतिर खारेज गरिन्छ ।”

सहकारीको सङ्ख्यामा आएको वृद्धिसँगै यहाँ सेयर लगानी, बचत र ऋण लगानी समेत बढिरहेको डिभिजन सहकारीले जनाएको छ । कञ्चनपुरमा रहेका ४०६ वटा सहकारीले रु एक अर्ब ६५ करोड ऋण लगानी गरेका छन भने रु ३६ करोड २२ लाख सेयर पुँजी रहेको छ । यस्तै ती सहकारीको रु ९३ करोड ५१ लाख बचत रहेको छ ।

यस्तै डडेल्धुरामा सेयर पँुजी रु ३६ करोड ३२ लाख, बचत रु ६ करोड २३ लाख तथा रु ९ करोड ८० लाख ऋण लगानी रहेको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *