बाह्र करोडको सुन्तला बिक्री

Post Date : February 2, 2017 | 3:40 pm

इलाम, २० माघ । किसानले यस वर्ष एक हजार ९९५ मेट्रिक टन सुन्तला उत्पादन गरी रु ११ करोड ९७ लाखको सुन्तला बिक्री गरेका छन् ।

यहाँ उत्पादन भएको सुन्तला झापा, मोरङ तथा भारतको दार्जिलिङ, सिलिगुढीलगायतका बजारमा बिक्री भएको हो । सुन्तला सरदर प्रतिकिलो रु ६० का दरले बिक्री भएको किसानले बताएका छन् ।

तराईका व्यापारी कृषकको बगानसम्म सुन्तला खरिद गर्न आएका कारण बजारको खासै समस्या नभएको जिर्मलेका यामप्रसाद अधिकारीले बताउनुभयो । सुन्तला बिक्रीबाट जिल्लामा बर्सेनि करोडौँ रूपैयाँ भित्रिने गरेको छ । “नामसालिङ गाविसबाट मात्र यस वर्ष रु तीन करोडको सुन्तला बिक्री भएको छ,” अधिकारीले भन्नुभयो ।

गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादनमा तीन प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्ले बताउनुभयो । जिल्लामा यस वर्ष ३५० हेक्टरमा गरिएको खेतीबाट तीन हजार ६२९ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत आवमा ३४० हेक्टरमा तीन हजार ५२३ मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयले जनाएको छ ।

सुम्बेक, नामसालिङ, जिर्मले, बरबोटे, सोयाक, गोदक, सोयाङ, पशुपतिनगर, कन्याम, लक्ष्मीपुर गाविस तथा इलाम नगरपालिका सुन्तला उत्पादन अत्यधिक मात्रामा हुने गरेको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *