‘बिदेसिए भर छैन, गाई पाले दिनहुँ आम्दानी’

Post Date : October 20, 2016 | 5:59 pm

उर्लाबारी (मोरङ), ४ कात्तिक । करिब छ वर्षअघि यहाँका विज्ञान ढुङ्गानालाई परिवार, आफन्तलगायत धेरैले आफ्नो ‘करिअर’ निर्माणका लागि बिदेसिन सुझाएका थिए ।

उच्च शिक्षा हासिल गरेपछि विभिन्न व्यवसायमा हात हालेर असफल हुनुभएका ३२ वर्षीय उहाँलाई यस्तो सुझाव दिनेलाई के लाग्यो भने ‘अब योसँग विदेश जानुको विकल्प छैन ।’ कुखुरापालन, यातायात व्यवसायलगायत कार्यबाट आर्थिक घाटा व्यहोरेका उहाँलाई कता–कता विदेश गएर पैसा कमाएर चाँडै उक्सिने चाह नपलाएको पनि होइन । उहाँले त्यसबारे धेरै सोच्नुभयो र अन्ततः निष्कर्ष निकाल्नुभयो, “पराधीन भई जिउँदै नुनिला आशुँका ढिका १ जिउनुभन्दा निको हुन्छ तातो गाली कता–कता १”

यही सोचका साथ ढुङ्गानाले मोरङको उर्लाबारी नगरपालिका –५ भिँगाबारीस्थित आफ्नै घर आसपासको दुई कठ्ठा जग्गामा गाईपालन व्यवसाय सुरु गर्नुभयो । कृषि विकास बैंकबाट रु ५० लाख ऋण लिएर सुरु गरेको उहाँको व्यवसाय छैटौं वर्षमा प्रवेश गरिसकेको छ । ‘श्री माता पार्वतीदेवी एन्ड आविष्कार गोशाला क्याटल फार्मिङ रिसर्च सेन्टर’ नाम दिइएको गोठमा अहिले साना–ठूला गरी ३२ गाई छन् जसमध्ये १२ वटा दुहुना छन् । ती गाईले दैनिक १२० लिटर दूध दिन्छन् । दूध प्रति लिटर रु ४२ का दरले बिक्री हुन्छ । त्यस्तै मासिक १० केजी घिउ बिक्री हुन्छ । प्रति केजी घिउको रु ६०० पर्छ ।

त्यसैगरी, वाषर््िाक रु एक लाखको मल बिक्री हुने गरेको ढुङ्गाना बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मल बिक्री गर्न बजारसम्म धाउनु पर्दैन, तरकारी खेती गर्नेले घरमै लिन आउँछन् ।” साथै उहाँले गाई किनबेचबाट पनि नाफा कमाउनुहुन्छ । तिनीहरुको ६० हजारदेखि एक लाख ५० हजारसम्ममा बेचविखन गरिन्छ । यससँगै बाच्छाबाच्छीको बिक्रीसमेत हुन्छ । गाईको नश्ल सुधारका लागि भनेर उहाँ आफैंले ‘अमेरिकन होलेस्टियन फिजिसियन’ जातको गोरु पाल्नुभएको छ । त्यो गोरुबाट महिनामा गाउँघरका करिब २० गाई भर्ना हुन्छन् । एउटा गाई भर्ना भएवापत रु ७०० आम्दानी हुन्छ । यी सबै जोड्दा मनग्य आम्दानी भएको जस्तो देखिएपनि आम्दानीमा करिब ६० प्रतिशत खर्च गोठ व्यवस्थापनमै लाग्ने गरेको ढुङ्गानाको भनाइ छ । कुल लागतमध्ये रु ३२ लाख खर्च दानापानीलगायत गोठ व्यवस्थापनमा लागेको छ भने वार्षिक रु ७० देखि ७२ हजारसम्म औषधोपचारमा लाग्ने गरेको छ । दुई जना कामदारलाई लाग्ने खर्च छुट्टै छ ।

यी सबै आम्दानी र खर्चको हिसाब गरेपछि ढुङ्गानाले भन्नुभयो, “घरकै भात खाएर महिनाको रु ५०/६० हजार चोखो बच्दोेरहेछ ।” त्यसो त कृषि विकास बैंकबाट लिएको ऋणमध्ये रु ३५ लाख चुक्ता भइसकेको छ भने अब तिर्न रु १५ लाख मात्र बाँकी छ । त्यो पनि चाँडै चुक्ता गर्ने लक्ष्य राखेको ढुङ्गानाले सुनाउनुभयो । एक सय गाई पाल्ने दीर्घकालीन योजना बुन्नुभएका ढुङ्गानाले भन्नुभयो, “यसै ठाउँमा आधुनिक प्रविधि भित्र्याएर यसै पेसालाई परिमार्जन गर्दै अरुलाई पनि रोजगारी दिने मेरो योजना छ ।” यसका लागि उहाँलाई राजधानी माइती भएर मोफसललाई कर्मथलो बनाएका श्रीमती भावनासहितका सबै परिवारका सदस्यले साथ दिइरहनु भएको छ र काममा सघाइरहनु भएको छ ।

यसबाहेक ढुङ्गानाले केही समययता रु करिब तीन लाखको लगानीमा पक्षी व्यवसाय सुरु गर्नुभएको छ जहाँ बट्टाई २००, चिनी हाँस १५०, हिले हाँस ६०, टर्की २४, चिनी हाँस १५ र राजहंश १४ वटा छन् । तर यिनीहरुले अहिलेसम्म बजार पाएका छैनन् । “बिक्री हुँदैन, त्यसैले घरमै काटेर खाने गरेका छौं”, उहाँले भन्नुभयो । साथै, उहाँले विभिन्न बोटविरुवा, बिऊबिजन लगाउनाका साथै अन्य किसानका लागि कृषिसम्बन्धी परामर्शसमेत सित्तैमा दिने गर्नुभएको छ । उहाँले भन्नुभयो, “एक हजार पाँच सय बिरुवा लगाइसकें । मेरो जीवनकालमा यो तीन बिगाहा जग्गा सबैमा चार हजार बिरुवा लगाउने लक्ष्य छ ।”

व्यवसाय सञ्चालन गरेबापत राज्यलाई वार्षिक रु २५ हजार राजश्व तिर्ने गर्नुभएका उहाँले सरकारी तबरबाट कुनै सुविधा नपाएको गुनासो गर्नुभयो । सरकारले आफूजस्ता किसानलाई अनुदान सहयोग गरे सस्तो रोजगारीका लागि विदेश जाने क्रम रोकिने उहाँको तर्क छ । उहाँ भन्नुहुन्छ – “स्वावलम्बी किसानलाई सरकारले गाई निःशुल्क देओस् । त्यसवापत केही लेओस् ।” ठाउँ हेरेर दूधको दाम फरक फरक हुनाले पनि किसान मारमा परिरहेको उहाँको गुनासो छ । उहाँ भन्नुहुन्छ – “विराटनगरमा सस्तोमा दाना पाइन्छ तर दूध महङ्गोमा बिक्छ, तर यहाँ दाना महङ्गो लगाएर किन्नुपर्छ । त्यसको तुलनामा दूध सस्तोमा बेच्नुपर्छ ।” बारम्बार हुने गरेको ‘मिल्क होलि डे’ का कारण पनि किसानहरु मारमा परेको उहाँको गुनासो छ ।

मदन राई, उपेन्द्रकान्त झा जस्ता कृषि विज्ञले राजधानीका मिडिया हाउसमा बसेर कृषि क्रान्तिका गफ गरेको सुन्नुभएका ढुङ्गानालाई उहाँहरुसँग प्रत्यक्ष भेटेर परामर्श लिने रहर भएपनि त्यो पूरा हुन सकेको छैन । उहाँले भन्नुभयो, “सरकारी तहका ठूला मान्छे वास्तविक किसानसम्म नपुगेसम्म कृषि क्रान्ति हुन्न ।”

दीर्घकालीन लक्ष्यका साथ कृषि पेसामा होमिएका ढुङ्गानालाई धेरैले आफ्नो पदचिन्ह पछ्याएकामा गर्व छ । उहाँका अनुसार बिदेसिने सोचाइ बुनेकासहित १० भन्दा बढी व्यक्तिले उहाँको पदचिन्ह पछ्याएर कृषि तथा पशुपालन व्यवसाय सुरु गरेका छन् । घरमै उत्पादन भएको दूध खाएमा स्वस्थ र तन्दुरुस्त हुने तर्क राख्नुहुने उहाँले भन्नुभयो, “जागिर खाँदा तलब लिन महिना दिन कुर्नुपर्छ तर, गाई पालेर दूध बेचेमा दिनदिनै आम्दानी हुन्छ ।” (दीपेन्द्र सापकोटा) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *