बिमा कम्पनीको सिइओ बन्न चाहिने न्यूनतम योग्यता घट्यो

Post Date : August 18, 2016 | 4:09 pm

काठमाडौं, २ भदौ । बिमा समितिले संस्थागत सुशासनसम्बन्धी पुरानो निर्देशिका–२०६९ संशोधन गर्दै नया संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७३ जारी गरेको छ । समितिले अधिकांश पुराना नीतिलाई निरन्तरता दिँदै बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्न चाहिने आवश्यक न्यूनतम योग्यता घटाएको छ । बिमा क्षेत्रको व्यवस्थापन तहमा १० वर्ष काम गरेको व्यक्ति मात्र प्रमुख कार्यकारी अधिकृत हुन पाउने व्यवस्थालाई संशोधन गर्दै स्नातकोत्तर गरेको र बिमा क्षेत्रमा ५ वर्ष व्यवस्थापन तहमा काम गरेको व्यक्तिलाई पनि सिइओ बनाउन पाइने बाटो खुल्ला गरेको छ ।

त्यस्तै, चार्टर्ड एकाउण्टेण्टलाई पनि सिइओ हुन मान्यता दिएको छ । सिइओको उमेर हद ६५ वर्ष पनि तोकिएको छ । समितिले बिमा, व्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, वाणिज्य शास्त्र, कानुन, गणित, तथ्याङ्क शास्त्र वा इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेको हुनु पर्नेछ ।

समितिले सिइओको तलब सोही कम्पनीमा काम गर्ने तल्लो तहको कर्मचारीको तलबभन्दा २५ गुणा बढीसम्म हुन सक्ने व्यवस्था गरेको छ । यसअघि १५ गुणा बढीसम्म हुन सक्ने व्यवस्था थियो । अब स्नातक उत्तीर्णले मात्रै बिमा कम्पनीको संचालक हुन पाउनेछ ।

अब विदेशी मुलुकको स्थायी आवासीय अनुमति डिभि, पिआर पाएका व्यक्ति बिमा कम्पनीको सिइओ हुन पाउने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *