बुटवल पावरद्वारा एफपिओ बिक्रीको म्याद थप

Post Date : February 9, 2018 | 5:17 pm

काठमाडौँ, २६ माघ । बुटवल पावर कम्पनीले आह्वान गरेको थप निष्काशन (एफपिओ)मा मागअनुसारको आवेदन नपरेपछि संस्थागत लगानीकर्ताले पनि शेयर खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।

सो कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले सबै शेयर बिक्री नभएकाले संस्थागत लगानीकर्तालाई शेयर दिने उल्लेख गरेको छ । कम्पनीले रु दुई अर्ब बराबरको एफपिओ जारी गरेकामा अझै रु ८० करोड बराबरको एफपिओ बिक्री भएको छैन ।

रु एक अर्ब २० करोड बराबरको मात्रै एफपिओ बिक्री भएपछि कम्पनीले संस्थागत रुपमा नै लगानी गर्न पाउने व्यवस्था गरिएको हो । कम्पनीले आज एक सूचनामार्फत संस्थागत लगानीकर्तालाई एफपिओ बिक्री गर्ने जानकारी दिएको हो । कम्पनीले यही माघ १५ गतेदेखि सर्वसाधारणका लागि भन्दै ४० लाख ८१ हजार कित्ता एफपिओ बिक्री खुल्ला गरेको थियो ।

कम्पनीले आफ्नो शेयर प्रतिकित्ता रु १०० मा रु ४०१ प्रिमियम मूल्य जोडेर प्रतिकित्ता रु ५०१ मा एफपिओ जारी गरेको हो । कम्पनीले साधारण शेयर (आइपिओ) बिक्री नगरी एफपिओ बिक्री गरेको भन्दै आलोचना भएको थियो । नेपाल धितोपत्र बोर्डले बुटवल पावर कम्पनीको एफपिओ कानून सम्मत् नै रहेको जनाएको थियो ।

हालसम्म निष्कासित सबै धितोपत्र खरिदका लागि आवेदन पर्न नआएकाले ‘धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४’ अनुसार आजदेखि संगठिन संस्था वा प्रचलित कानून बमोजिम स्थापना भएका संस्थाले समेत शेयर खरिद गर्न पाउने गरी बिक्री खुल्ला गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सो कम्पनीको शेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल हो । क्यापिटलका अनुसार यही माघ २४ गतेसम्ममा जम्मा रु एक अर्ब २० करोड बराबरको मात्रै एफपिओ बिक्री भएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *