बेलौती बेचेर शैक्षिक सामग्री किन्छन् विद्यार्थी

Post Date : September 23, 2016 | 1:53 pm

लिबाङ (रोल्पा), ७ असोज । आर्थिक अभावका कारण जिल्लाका केही बालबालिकाले बिदाका दिनमा बेलौती (अम्बा) बेचेर शैक्षिक सामग्री जुटाउँदै आएका छन् । पढ्ने तीव्र चाहना हुँदाहुँदै पनि शैक्षिक सामग्रीको अभावका कारण पढाइमा बाधा पुग्ने गरेको उनीहरुको भनाइ छ ।

यसरी बेलौती बेचेर शैक्षिक सामग्री जुटाउने सबैजसो बालबालिकाका बुबा वैदेशिक रोजगारीमा गएको र आमा घरकै काममा व्यस्त हुने भएपछि उनीहरु बिदाका दिनमा बेलौती बेच्नका लागि सदरमुकामसम्म आउन बाध्य भएका हुन् । बिदाका दिनमा मात्र बेचेको बेलौतीबाट दैनिक रु २५० देखि ३५० सम्म आम्दानी हुने उनीहरुले बताएका छन् ।

डाक्टर बनेर रोल्पाली जनताको सेवा गर्ने लक्ष्य बोकेकी ११ वर्षीया सृजना पुन बालउदय माध्यमिक विद्यालय जंकोट–१ माडिचौर रोल्पामा कक्षा ५ मा अध्ययनरत छिन् । उनलाई मनैदेखि पढ्ने रहर छ । भविष्यमा जिल्लाकै अस्पतालमा डाक्टर बनेर जनताको सेवा गर्ने रुचि बोकेकी पुनले आर्थिक अभावका कारण शैक्षिक सामग्री जुटाउन गाह्रो भएको बताइन् । बुबाको कमाई घरखर्चमै सकिने भएपछि उनले बिदाका दिनमा गाउँमै बेलौती खरिद गरेर सदरमुकाम पुगी बेलौती बेच्न थालेकी हुन् ।

यस्तै, १० वर्षीया प्रतिमा पुन माडिखोला अङ्ग्रेजी बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययन गर्दैछिन् । सृजना जस्तै प्रतिमाको पनि पढेर गाउँकै विद्यालयमा शिक्षक बन्ने रहर छ । तर आर्थिक अभावका कारण डोकोमा बेलौती बोकेर बेच्नका लागि उनी पनि साथीहरुसँग बिदाका दिनमा सदरमुकाम आउने गर्छिन् । करिब साढे २ घन्टाको लामो बाटो पैदल यात्रा गरेर उनीहरु सदरमुकामसम्म आइपुग्छन् । अरू बेला स्कुल हुन्छ, बिदाका दिनमा पनि आमालाई सघाउन बेलौती बेच्न आउँछौँ, सृजनाले भनिन् ।

यस्तै, जंकोट–१ माडिचौर रोल्पाका १२ वर्षीय दीपेश बुढामगर बालउदय माविमा कक्षा ७ मा अध्ययन गर्दैछन् । भविष्यमा के भन्ने भन्ने बारेमा उनलाई थाहा छैन, तर पनि पढेर ठूलो मान्छे बन्नका लागि उनी पनि सदरमुकामसम्म बेलौती बेच्न आउने गरेका हुन् ।

भाइबहिनी साना छन् घरमा गाईवस्तु पनि छन् घरको काम झन्झटिलो हुन्छ, त्यसैले आमालाई सघाउन बिदाका दिनमा बेलौती बेच्न आएको हुँ बुढामगरले भने ।

यसरी बेलौती बेच्नेमध्ये कसैको घरबाट ल्याए पनि अन्य सबैले गाउँबाट खरिद गरेर ल्याउने गरेका छन् । यी बालबालिकाले मौसमअनुसारका फलफूल जस्तै आँप, सुन्तला, काफल लगायतका फलफूल बेचेर शैक्षिक सामग्रीहरु जुटाउँदै आएका छन् । (कविता उपाध्याय) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *