बैंकहरूले १०० ग्राम, २०० ग्राम, ५०० ग्रामका सुन आयात गर्न पाउने
व्यवसायीहरूले पनि बैंकबाट सोही अनुसारका सुन किन्न पाउने

Post Date : September 11, 2016 | 8:37 am

काठमाडौं, २६ भदौ । अब वाणिज्य बैंकहरूले टुक्रा सुन आयात गर्न पाउने भएका छन् । बैंकहरूलाई आयात गर्न वाणिज्य मन्त्रालयले अनुमति दिएपछि छुक्रा सुन ल्याउन सकिने भएको छ ।

हाल बैंकहरूले सुन किलोको टुक्रा आयात गरी किलोमै बिक्री गर्छन् । तर ठूला सुन व्यवसायी २ दर्जन जतिले मात्र किलो सुन किन्ने क्षमता रहेको देखिन्छ । नेपालमा २२ हजारभन्दा बढी सुन पसल रहेको व्यवसायीहरू बताउँछन् ।

बैंकहरूले अब १ सय ग्राम, २ सय ग्राम, ५ सय ग्राम र एक किलोको परिमाणमा मात्रै सुन ल्याउन पाउने भएकोले अब सबै व्यवसायीले सुन किन्न सक्ने भएको छ ।

वाणिज्य बैंकहरूले दक्षिण अफ्रिका, यू.ए.ई., हङकङ, स्विट्जरल्याण्ड लगायतका देशहरूबाट सुन एक किलोमा आयात गर्छन् । वाणिज्य बैंकहरूले पालैपालोमा दैनिक १५ किलो सुन आयात गर्न पाउँछन् ।

अवैध रूपमा सुन नेपाल भित्रिएपछि बैंकहरूको सुन बिक्री हुन छाडेपछि बिक्री वितरणलाई सहज बनाउन केही समयअघि नेपाल राष्ट्र बैंक, राजस्व अनुसन्धान विभाग, भन्सार विभाग, सुन व्यवसायीबीच भएको छलफल अनुसार बैंकहरूले १०० ग्राम, २०० ग्राम, ५०० ग्रामको पनि सुन ल्याउन पाउने सहमति भएको थियो ।

नेपाल राष्ट्र बैंक, संचालक समितिको बैठकमा पारित गरेर वाणिज्य बैंकहरूलाई परिपत्र गरिसकेपछि बैंकहरूले साना टुक्रा आयात गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *