बैंक अफ काठमाण्डू लुम्बिनीको २३% बोनस शेयर

Post Date : March 17, 2017 | 12:13 pm

काठमाडौँ, ४ चैत । बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडको २२ औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७२/७३ को खुद मुनाफाबाट शेयरधनीलाई २३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । गत आर्थिक वर्ष २०७२/७३ मा साबिक बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक गाभिएर संचालनमा रहेको यस बैंकले ९९ करोड २६ लाख रुपैयाँ संचालन मुनाफा र ६५ करोड ५२ लाख रुपैयाँ खुद मुनाफा गरेको जनाएको छ ।

बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक एकआपसमा गाभिंदा राष्ट्रि बैंकलाई स्वीकार्य हुने उपयुक्त नाम तय गरी यस साधारणसभाबाट अनुमोदन गराइनु पर्ने शर्तको परिपालना गर्न बैंकको नाम ‘बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेड’ बाट ‘बैंक अफ काठमाण्डू लिमिटेड’ मा परिवर्तन गर्न प्रस्तुत विशेष प्रस्ताव पनि सभाले पारित गरेको बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिकसम्म ७० अर्ब ७ लाख रुपैयाँ निक्षेप संकलन र ६२ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरी ६० करोड १४ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । त्यस्तै, निस्क्रिय कर्जा १ दशमलब ५१ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७८ दशमलब ९७ प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ५ अर्ब ६२ करोड ९५ लाख ७६ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ७५ करोड २६ लाख २१ हजार रुपैयाँ छ ।

बैंकको हाल ७४ शाखा, ६२ वटा एटिएम र ७ वटा एक्सटेन्सन काउण्टरबाट सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *