बैंक अफ काठमाण्डू लुम्बिनी लि. को नामबाट आज देखि एकीकृत कारोबार प्रारम्भ

Post Date : July 14, 2016 | 5:22 pm

काठमाडौं, ३० असार । बैंक अफ काठमाण्डू लि. र लुम्बिनी बैंक लि.एक आपसमा गाभिएर बैंक अफ काठमाण्डू लुम्बिनी लि. को नामबाट आज देखि एकीकृत कारोबार प्रारम्भ गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको एक औपचारिक समारोहका बीच आज नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपाल ज्यूले बैंक अफ काठमाण्डू लुम्बिनी लि. को नयाँ कोरपोरेट लोगोको अनावरण गरी कार्यक्रमको सुरुवात गर्नुभयो ।

दुबै बैंकले मर्जरका निमित्त सहमतिपत्रमा २०७२ पौष ९ गते हस्ताक्षर गरी नेपाल राष्ट्र बैंक समक्ष संयुक्त आवेदन दिएका थिए । नेपाल राष्ट्र बैंकबाट २०७२ चैत्र २६ गते मर्जरका निमित्त सैद्धान्तिक सहमति प्राप्त भए पश्चात् दुबैले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरी २०७३ बैशाख २७ गते लुम्बिनी बैंक लि. ले तथा २०७३ जेष्ठ १७ मा बैंक अफ काठमाण्डू लि. ले मर्जर सम्बन्धी प्रस्तावहरु आ–आफ्ना वार्षिक साधारण सभाबाट पारित गराएका थिए । यी प्रक्रियाहरु पुरा गरे पश्चात् पछि मर्जरको अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष संयुक्त आवेदन पेश गरी तहाँबाट २०७३ अषाढ २४ गते सो सम्बन्धी स्वीकृती प्राप्त गरेका थिए ।

मर्जरको माध्यमबाट एकिकृत हुने यी दुबै बैंक नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “क” वर्गका वाणिज्य बैंक हुन् । बैंक अफ काठमाण्डू लि. तथा लुम्बिनी बैंक लि. ले क्रमशः २०५१/११/२८ र २०६३/०१/१२ देखि आ–आफ्ना कारोवार शुरु गरेका हुन् । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७३/७४ सम्ममा न्युनतम पूँजी रु ८ अर्ब पुरयाउनु पर्ने निर्देशनको अनुपालना गर्ने सम्बन्धमा दुबै बैंकले मर्जरलाई आधार बनाउन सकिने योजना सार्वजनिक गरे बमोजिम यस मर्जरको पहल गरिएको हो । यस मर्जरबाट एकिकृत संस्था बैंक अफ काठमाण्डू लुम्बिनी लि. को कूल चुक्ता पूँजी रु.४,५७,६८,९१,००० पुग्न गएको छ । साथै, गाभ्ने बैंक बैंक अफ काठमाण्डू लि. तथा गाभिने बैंक लुम्बिनी बैंक लि. को शेयर सट्टा अनुपात १ ः ०.८२८१ कायम गरिएबाट एकिकृत संस्थामा रु.३९,५५,३४,६८० को पूँजीगत जगेडा कोष समेत कायम हुन गएको छ ।

चालु आर्थिक वर्षको तेश्रो त्रयमासको अन्त सम्म बैंक अफ काठमाण्डू लि. को कूल निक्षेप तथा कर्जा क्रमशः रु ४०.७२ अर्ब तथा रु ३४.८५ अर्ब रहेको छ भने सोहि अवधिमा लुम्बिनी बैंक लि. को कूल निक्षेप तथा कर्जा क्रमशः रु २२.९४ अर्ब तथा रु. २०.३५ अर्ब रहेको छ । त्यसै गरी उक्त अवधि सम्म बैंक अफ काठमाण्डू लि. ले खुद मुनाफा रु ४८,३५,१२,५५७।५० आर्जन गरेको थियो भने लुम्बिनी बैंकले रु. २७,७९,३१,४७४।८० आर्जन गरेको छ ।

बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडको नयाँ संचालक समितिको समायोजन यस प्रकार छ ः बैंक अफ काठमाण्डूको र्तफबाट श्री सत्य नारायण मानन्धर (संस्थापक समुह), श्री सन्त वर सिंह थापा (संस्थापक समुह), श्री गोविन्द प्रसाद शर्मा (सर्वसाधारण समुह), श्री चोप नारायण श्रेष्ठ (सर्वसाधारण समुह), प्रा. डा. हेमराज सुबेदी (सर्वसाधारण समुह) तथा लुम्बिनी बैंक लिमिटेडको र्तफबाट श्री केदार नाथ गौतम (संस्थापक समुह), श्री सुवर्ण लाल श्रेष्ठ (संस्थापक समुह), श्री मदन लाल जोशी (सर्वसाधारण समुह) र श्री दिव्यनिधि विष्ट (व्यवसायिक संचालक) ।

साथै यस संचालक समितिको आज बसेको बैठकले बैंक अफ काठमाण्डु लुम्बिनी लिमिटेडको अध्यक्ष पदमा श्री सत्य नारायण मानन्धर ज्युलाई निर्वाचित गरेको छ साथै प्रमुख कार्यकारी अधिकृत पदको निम्ति श्री अजय श्रेष्ठ ज्युलाई नियुक्त गरेको छ ।

एकिकृत संस्था बैंक अफ काठमाण्डू लि. को रजिष्टर्ड तथा मूख्य कार्यालय कमलपोखरी, काठमाण्डौं कायम गरिएको छ । दुई बैंकको एकिकरण पश्चात ग्राहकहरुले देश भरीका ७४ शाखा, ६३ एटीएम, ७ काउन्टर र ३३ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवा लिन सक्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *