बोधिचित्त मालाबाट न्यून राजस्व

Post Date : June 27, 2016 | 6:45 pm

बनेपा, १३ असार । काभ्रेपलाञ्चोकमा उत्पादन हुँदै आएको करोडौँ मूल्यको बोधिचित्त मालाबाट न्यून राजस्व उठ्ने गरेको छ ।

बोधिचित्तलाई वनस्पती विभागले बयर प्रजातिको रुपमा राखेपछि मालाको राजस्व प्रतिकिलो एक रुपैयाँ चार पैसा कायम गरेका कारण न्यून राजस्व सङ्कलन हुने गरेको छ । जिल्ला वन कार्यालयका अनुसार जिल्लामा आव २०७१/७२ मा सात हजार १५८ किलो बोधिचित्तको मालाका लागि छुटपुर्जी दिएबापत रु सात हजार ४४५ राजस्व सङ्कलन भएको थियो ।

आव २०७२/७३ मा ३१ हजार २८९ किलोका लागि कार्यालयले छुटपुर्जी दिएकामा रु ३२ हजार २८९ राजस्व सङ्कलन भएको छ । वन विज्ञानमा बोधिचित्तको मालाको महत्व कम भएकाले यसको राजस्वमा प्रभाव परेको जिल्ला वन अधिकृत प्रेम खनाल बताउनुहुन्छ ।

उहाँले बोधिचित्तको उत्पादन पहिलेदेखि नै हुँदै आए पनि बौद्धधर्मावलम्बीबाट मात्रै यसको प्रयोग हुँदा प्राथमिकतामा नपरेको र राजस्व पनि न्यून उठेको बताउनुभयो । जिल्लाको तिमाल क्षेत्रको सस्यूँखर्क, मेथिनकोट, ठूलोपर्सेल, नारायणस्थानलगायतका गाविसमा बढीजसो बोधिचित्तको खेती हुने गरेको छ ।

जिल्लामा चार लाख ८० हजार किलो बोधिचित्तको फल उत्पादन हुने गरेको बताइएको छ । सरकारले यसको प्रवद्र्धनका लागि रु १० लाख बजेट विनियोजन गरेको छ । जिल्लाको चौवास, डराउनेपोखरी, तिमाल र कटुञ्जेबेँसीमा गरिब समुदायलाई जीविकोपार्जनका लागि निःशुल्क रुपमा बोधिचित्तको बिरुवा वितरण गरिँदैआएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *