ब्रिकेट उद्योगबाट गाउँ नै रोजगारीमा

Post Date : July 11, 2016 | 2:25 pm

अतरपुर (सिन्धुपाल्चोक), २७ असार । सिन्धुपाल्चोकको अतरपुर गाविस– ८ सिक्रे गाउँका ३२ जनालाई बिक्रेट उद्योगले रोजगारी दिलाएको छ ।

फलामे चुलोमा प्रयोग हुने ब्रिकेट उद्योग स्थापना भएपछि स्थानीयवासीले गाउँमै रोजगारी पाएका हुन् । विसं २०६५ मा स्थापना भएको उक्त उद्योगमा स्थानीयवासीले रोजगारी पाएसँगै विदेश जानुपर्ने वाद्यता हटेको स्थानीयवासीले बताएका छन् ।

नाकाबन्दीका बेला ग्यासको चरम अभाव हुँदा यहाँको उद्योगले मनग्य आम्दानी गरेको उद्योगका अध्यक्ष रत्नबहादुर श्रेष्ठले बताउनुभयो । स्थानीय कच्चा पदार्थमा उत्पादन गरिने ब्रिक्रेट उद्योग स्थापना भएसँगै स्थानीयवासीको दैनिकी फेरिएको छ । उद्योग स्थापनापछि सामुदायिक वनको राजस्वमा समेत वृद्धि भएको छ ।

जङ्गलमा त्यसै कुहिएर गएको झारपात सङ्कलन गरी स्थानीयवासीले सामुदायिक वनलाई प्रतिकिलो २५ पैसा राजस्व तिर्ने गरेका छन् । “उद्योगले एक दिनमा एक हजार ५०० देखि एक हजार ७०० प्रति थान ब्रिकेट उत्पादन गर्ने गरेको छ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो । एक महिनामा नौ हजार किलो कच्चा पदार्थ प्रयोग हुने गरेको छ ।

ब्रिकेट उत्पादनको मुख्य समय कात्तिकदेखि वैशाखसम्म हो । वैशाख १५ गतेपछि उद्योग बन्द रहन्छन् । उक्त समयमा उद्योगले पुरानै उत्पादन बिक्री वितरण गर्ने गरेका छन् । अहिले यस उद्योगमा दुई लाख प्रतिब्रिकेट उत्पादन गरी भण्डारण गरी राखिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

भूकम्पपछि समस्यामा परेका उद्योगलाई घरेलु तथा साना उद्योग विकास समितिले केही रकम सहयोग गरेपछि पुनः सञ्चालनमा आएका छन् । घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय दोलखाका निर्देशक मणिराम नेपाल ब्रिकेट उद्योगले जनताको जीवनस्तर सुधारिएको, दाउरा, ग्यास, बिजुली प्रयोगमा कमी आएको बताउनुहुन्छ ।

“कच्चा पदार्थबाट राजस्वमा समेत वृद्धि भएको छ,” उहाँले भन्नुभयो । ब्रिकेट उद्योगले २० जना महिला र १२ जना पुरुषलाई रोजगारी दिएको छ । उद्योगमा कार्यरत स्थानीयवासीले दैनिक रु ६०० देखि रु ९०० सम्म आम्दानी गर्ने गरेका छन् । यहाँ उत्पादन भएको ब्रिकेट सिन्धुपाल्चोक, दोलखा, काठमाडौँ र तराईका केही जिल्लामा निर्यात गरिन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *