भारतको सिलगुढीबाट पेट्रोल आउन थाल्यो

Post Date : August 10, 2016 | 12:06 pm

पथरी (मोरङ), २६ साउन । पूर्व क्षेत्रमा पेट्रोलको आपूर्तिलाई थप सहज बनाउन नेपाल आयल निगमले भारतको सिलगुढीबाट पेट्रोलको आपूर्ति सुरु गरेको छ । निगमले दैनिक सिलगुढी डिपोबाट १० ट्याङ्कर अर्थात् एक लाख २० हजार लिटर पेट्रोलको आयात सुरु गरेको हो ।

माग गरेअनुसारको पेट्रोल उपभोक्ताले सहजै पाउन भन्ने उद्देश्य राखेर निगमको क्षेत्रीय कार्यालयले सिलगुढीबाट पेट्रोलको आपूर्ति सुरु गरेको निगमका पूर्व क्षेत्रीय प्रमुख दिनेश यादवले बताउनुभयो । “अब पूर्वक्षेत्रमा पेट्रोलको अभाव हुनेछैन”, प्रमुख यादवले भन्नुभयो, “उपभोक्ताले माग गरेअनुसारकै पेट्रोल उपलब्ध गराउन निगम तयार छ ।”

निगमले यसअघि बरौनी रिफाइनरीबाट मात्र पेट्रोल आयात गरिरहेको थियो । बरौनीबाट दैनिक १० ट्याङ्कर अर्थात् एक लाख २० हजार लिटर आयात हुने पेट्रोलले माग पूरा गरिरहे पनि सहजता भने थिएन । बरौनी र सिलिगुढीबाट दैनिक आउने २० ट्याङ्करको कुल दुई लाख ४० हजार लिटर पेट्रोल पूर्वको मागभन्दा उच्च देखिन्छ । बरौनी रिफाइनरीबाट दैनिक ३५ ट्याङ्कर डिजेलसमेत आयात भइरहेको छ ।

त्यस्तै, आवश्यकताअनुसार मट्टितेलको पनि आयात भइरहेको निगमले जनाएको छ । हाल निगमको भण्डारमा ५५० केएल पेट्रोल र चार हजार केएल डिजल मौज्दात रहेको निगमले दाबी गरेको छ ।

यसैबीच, निगमले ट्याङ्करको व्यवस्थित पार्किङस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । निगमको हाताभित्रै पार्किङस्थलको निर्माण पूरा गरेर सडकमा देखिएको ट्राफिक समस्या समाधान गर्ने निगमको योजना छ । निगमको पूर्व क्षेत्रीय कार्यालयले गत चैत २७ गते सार्वजनिक सूचनासहितको टेन्डर आह्वान गरेपछि शिवालय एनसी निर्माणसेवा जेभी, काभ्रेले ४८ लाखको लागतमा पार्किङस्थल निर्माणको ठेक्का लिएको हो ।

पूर्व क्षेत्रीय प्रमुख यादवले आउँदो भदौसम्ममा पार्किङस्थलको निर्माण कार्य पूरा भइसक्ने र असोजको पहिलो साताबाटै सञ्चालनमा आउने बताउनुभयो । कुल १२ कट्ठा जमिनमा निगमको हाताभित्रै ट्याङ्करको पार्किङस्थल निर्माण भइरहेको छ । भारतको बरौनी रिफाइनरीबाट पेट्रोलियम पदार्थ बोकेर आएका सयौँ ट्याङ्करलाई पार्किङस्थलमा व्यवस्थित ढङ्गले राखिने निगमले जनाएको छ ।

पार्किङस्थलमा एकै पटक २०० वटा ट्याङ्कर अट्नेछन् । सुरक्षाको दृष्टिकोणले अत्यन्तै चुनौती बनिरहेको यार्डलाई व्यवस्थित बनाउने क्रममा जग्गामा ग्राभेल, घेरबार गरिनेछ भने पार्किङ स्थलमा सुरक्षा पोस्टसमेत राख्ने योजना छ । पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करको सङ्ख्या हाल २२५ को हाराहारीमा छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *