भारुको कारोबार रोकिँदा भारतबाट आएका नेपाली अलपत्र

Post Date : November 11, 2016 | 3:02 pm

धनगढी, २६ कात्तिक । भारतबाट तीन दिनअघि आफ्नो घर डडेल्धुरा जान भनी फर्किएका करन अवस्थी भारु नचल्ने भएपछि यहाँ अलपत्र पर्नुभएको छ ।

भारतको हैदरावादमा काम गर्दै आएका डडेल्धुराको दामल घर भएका अवस्थी बुधबार बिहान धनगढी पुग्नुभएको थियो ।

खल्तीमा रहेको १००० र ५०० दरका नोटको गड्डी देखाउँदै अवस्थीले भन्नुभयो – “यी नोट सटही गर्न धनगढीका थुप्रै बैंक र व्यापारी कहाँ धाएँ, कसैले सटही गर्न मानेनन् ।”

आफूसँग नेरु नभएको र भारु सटही नहुँदा घर कसरी पुग्ने समस्या भएको मात्र नभई धनगढीमा खान र बस्ने समस्यासमेत भएको दुःखेसो सुनाउनुभयो ।

भारतबाट फर्किएका डडेल्धुरा जिल्लाकै चेत अवस्थीले भारतीय सरकारले भारु १००० र ५०० दरका नोट चलनचल्ती गर्न रोक लगाएको निर्णयबाट भारतमा कमाइ गरेर बचत गरेको भारु कागजको खोस्टो बनेकामा चिन्ता व्यक्त गर्नुभयो । “भारुको नेरु सटही गर्न कसैले मान्दैनन्, अब कहाँ जाने ? उहाँले प्रश्न गर्नुभयो ।

भारुको कारोबार रोकिँदा पीडित भएका यी दुई प्रतिनिधि पात्र मात्र हुन् । यो घटनाका कारण भारतमा काम गरी फर्किएका शैयौँ नेपाली यतिबेला धनगढीलगायतका सीमावर्ती नेपाली बजारमा अलपत्र परेका छन् ।

आफ्नो साथमा रहेको भारु १००० र ५०० दरका नोटको सटही हुने/नहुने अन्योलता बढेपछि सीमावर्ती बजारका नागरिक मारमा परेका छन् ।

यहाँका चोक, चिया पसल, सार्वजनिकस्थलमा सर्वसाधारण र व्यापारीबीच भारु नोट सटही हुने÷नहुनेबारे चर्चा गरिएको सुनिन्छ ।

सीमावर्ती धनगढीलगायतका नेपाली बजारमा भारुको र गौरीफँटालगायतका भारतीय बजारमा नेरुको चलनचल्ती सहज रुपमा हुँदै आएको छ ।

यता नेपाल राष्ट्र बैंक धनगढीका प्रबन्धक विश्रुत थापाले भारुको १००० र ५०० दरका नोटको कारोबारमा भारत सरकारले रोक लगाएपछि नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले बुधबारदेखि भारुका ठूला दरका नोटको कारोबारमा पनि रोक लगाएको जानकारी दिनुभयो ।

“कालोधन रोक्नका लागि भारत सरकारले यस्तो गरेको हुनसक्छ” – थापाले भन्नुभयो ।

राष्ट्र बैंक धनगढीबाट १०० दरको भारुको नोट सटही गर्ने काम सदा झैँ आज पनि भएको उहाँले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *