भारु नोट सटही नहुँदा सास्ती

Post Date : November 18, 2016 | 4:40 pm

पाल्पा, ३ मङ्सिर । भारत सरकारले भारु एक हजार र पाँच सयको नोटको कारोबारमा रोक लगाएसँगै जिल्लाका सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।

भारतमा सेना, प्रहरी, तथा अन्य काम गर्ने नेपालीले भारु नोट भित्र्याउने गरेका छन् । भारतमा काम गर्दैआएका मुझुङग– १ का बाबुराम दर्नाल दसैँमा ल्याएको भारु पाँच सय र एक हजारका नोट सटही गर्न नपाएको बताउनुहुन्छ ।

“पैसा भएर पनि नभएको जस्तो भएको छ,” उहाँले भन्नुभयो । भारु पाँच सय र एक हजारको नोट बोकेका अन्यको अवस्था पनि दर्नालको जस्तै छ । भारु साटन गाह्रो भएको छ । सबैभन्दा बढी मारमा बिरामी परेका छन् । जिल्लाको युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार गर्न आएका भारतीय नागरिक समेत मारमा परेका छन् ।

राष्ट्रिय वाणिज्य बैंक पाल्पा शाखाका प्रबन्धक मित्रलाल नेपाली भारु नोट बंैकमा समेत नभएकाले सटही हुन नसक्ने बताउनुहुन्छ । भारतले रोक लगाएसँगै नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले कात्तिक २५ गतेदेखि भारु नोटको कारोबारमा रोक लगाएको छ । भारु सटहीका लागि बैंक धाउनेहरु सटही नहुँदा फर्किने गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *