भिरमहको कारोबार कानुनी दायरामा आउन थाल्यो

Post Date : June 3, 2016 | 5:04 pm

बाबियाचौर (म्याग्दी), २१ जेठ । जिल्लामा उत्पादन हुने भिरमहको कारोबार कानुनी दायरामा आउन थालेको छ ।

सामुदायिक र राष्ट्रिय वन क्षेत्रको भिरपहराबाट उत्खनन् हुने भिरमह कानुनी प्रक्रिया पूरा गरेर सङ्कलन तथा निकासी हुन थालेको हो । भिरमहको अवैध चोरी निकासीसँगै राजस्व छली हुने गरेको थियो ।

जिल्ला वन कार्यालयको पहुँच विस्तार सँगै सङ्कलनकर्ता भिरमहको कारोबारका लागि अनुमति लिन थालेका सहायक जिल्ला वन अधिकृत अजयविक्रम मानन्धरले बताउनुभयो । कार्यालयले चालु आव २०७२र७३ को हालसम्म ९८५ किलो भिरमह सङ्कलनका लागि अनुमति दिएको छ । यस अघि भिरमह सङ्कलन तथा निकासीका लागि कसैले अनुमति लिएका थिएनन् ।

चेकजाँचमा कडाइ र कानुनी प्रक्रियाका बारेमा सचेत गर्न थालिएपछि वन पैदावारअन्तर्गत पर्ने भिरमहको कारोबारका लागि कार्यालयको अनुमति लिन थालेका हुन् । भिरमह सङ्कलन तथा निकासीका लागि प्रतिकिलो रु दशका दरले वन कार्यालयमा राजस्व बुझाएर अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । यस वर्ष ६६३ किलो भिरमह जिल्लाबाट निकासी भइसकेको कार्यालयले जनाएको छ ।

परम्परागत रुपमा भिरमह सङ्कलन तथा व्यापार हँुदै आएपनि कानुनी प्रक्रियाको विषयमा अहिलेमात्रै जानकारी भएको निस्कोटका बासिन्दा लेकबहादुर पुन बताउनुहुन्छ । निस्कोटमा सङ्कलन भएको १०० किलो मह काठमाडाँै निर्यात गर्न बिहीबार वन कार्यालयले अनुमति दिएको छ । जिल्लाका गुर्जा, मुदी, लुला, निस्कोट, कुइनेमङ्गले, चिमखोला गाविसमा भिरमह सङ्कलन हुने गर्छ ।

यहाँको भिरमह पोखरा, काठमाडाँैका जडीबुटी व्यवसायीले कतार, कोरियालगायतका देशमा निर्यात गर्दै आएका छन् । वन कार्यालयको तथ्याङ्क अनुसार जिल्लाबाट वार्षिक एक हजार २७६ किलो भिरमह सङ्कलन तथा निकासी गर्न सकिन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *