भूकम्प प्रभावित जिल्लामा रेडक्रस

Post Date : June 11, 2016 | 11:23 am

काठमाडौँ, २९ जेठ । नेपाल रेडक्रस सोसाइटीले भूकम्पबाट अति प्रभावित १४ जिल्लामध्ये पाँच जिल्ला नुवाकोट, रसुवा, ओखलढुङ्गा, सिन्धुली र रामेछापमा छ हजार घर निर्माण कार्यमा आर्थिक एवम् प्राविधिक सहयोग गर्ने भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसित सोसाइटीले पहिलो चरणमा घर निर्माण गर्न सम्झौता समेत गरिसकेको छ । यसका लागि अमेरिकन रेडक्रसले रसुवा र नुवाकोट तथा रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले ओखलढुङ्गा, सिन्धुली र रामेछापमा स्थानीय बासिन्दाका घर निर्माण गर्नेसहित अन्य कार्यक्रमका लागि सोसाइटीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

गत वर्षको विनाशकारी भूकम्पपश्चात् यसबाट अति प्रभावित जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ, गोरखा, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रे, सिन्धुली र ओखलढुङ्गामा सोसाइटीले विभिन्न ११ देशका रेडक्रसको साझेदारीमा कार्यक्रम सञ्चालन गरिरहेको छ । सोही कार्यक्रमअन्तर्गत आवास निर्माणमा सहयोग गर्न लागिएको हो ।

सो कार्यक्रमको एकीकृत अवधारणाभित्र आवासका साथसाथमा खानेपानी तथा सरसफाइ, जीविकोपार्जन, सामुदायिक स्वास्थ्य र संस्थागत विकास पनि रहेका छन् ।

कार्यक्रमका संयोजक उमेश ढकालले भन्नुभयो, “हामी भूकम्प प्रभावितलाई प्राविधिक सहयोग र सरकारी मापदण्डअनुसार प्रदान गरिने आर्थिक सहयोग एकसाथ लिएर आवास निर्माणमा सहजीकरण गर्न जुटिसकेका छौँ, अब छिट्टै घर निर्माणको काम सुरु हुन्छ ।” नेपाल रेडक्रसले घर बनाउन प्राविधिक सरसल्लाह र निर्धारित आर्थिक साहायता प्रदान गर्ने हो, यसका लागि आवश्यक पर्ने अन्य स्रोत जुटाउने कार्य घरधनी स्वयम् आफैँले गर्नुपर्ने उहाँले स्पष्ट गर्नुभयो ।

सहरी विकास तथा भवन निर्माण विभाग र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार पारेको भूकम्प प्रतिरोधात्मक भवन निर्माण तालिम सञ्चालन कार्यविधि, २०७२ अनुसार अहिले १४ वटै जिल्लाका कार्यक्रम लागू भएका गाविस तथा नगरपालिकामा भूकम्प प्रतिरोधात्मक भवन निर्माणसम्बन्धी डकर्मी तालिम सञ्चालन भइरहेको छ । यस तालिम सम्पन्नपश्चात् सुरक्षित आवास निर्माण गर्न सहयोग पुग्नुका साथै दक्ष डकर्मी सीपले जीविकोपार्जनमा समेत सुधार आउने कार्यक्रमका व्यवस्थापक कमल निरौला बताउनुहुन्छ ।

गत वर्षको विनाशकारी भूकम्पपश्चात् खोज, उद्धार र राहत प्रदान गर्न अग्रणी भूमिका निर्वाह गरेको सोसाइटीले प्रत्यक्ष र अप्रत्यक्ष गरी पाँच लाखभन्दा बढी जनतालाई जिल्लामा रहेका स्वयम्सेवक तथा संयन्त्रमार्फत आर्थिक तथा मानवीय सहायता प्रदान गरेको थियो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसित सोसाइटीले नुवाकोटको काहुले गाविसमा ९५३ र भाल्चे गाविसमा एकहजार पाँच, सिन्धुलीको सीतापाइला गाविसमा ८८०, रामेछापको रामपुर गाविसमा ६४३, मन्थली नगरपालिका–२ मा १२५, ओखलढुङ्गाको हर्कपुर र प्राप्चा गाविसमा क्रमशः ३२७ र १९३, सोही जिल्लाको सिद्धिचरण नगरपालिका १, २ मा ३०२, रसुवाको डाडागाउँ गाविसमा ६११ र ठूलोगाउँमा ४४३ घर बनाउन सम्झौता गरेको छ । पहिलो चरणमा बनाइने ती घरबाट करिब ७१ हजार लाभान्वित हुने अपेक्षा सोसाइटीले राखेको छ ।

नव निर्माणमा प्रत्येक घरमा कम्तीमा एक जना तालिम प्राप्त डकर्मी अनिवार्य हुनुपर्ने सरकारी प्रावधानमा सहयोग पुग्ने गरी नेपाल रेडक्रसले कार्यक्रम सञ्चालन गरेका सबै गाविस तथा नगरपालिकामा कम्तीमा ३० जना डकर्मी उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यक्रम व्यवस्थापक निरौला बताउनुहुन्छ ।

भूकम्प प्रतिरोधात्मक भवन निर्माणसम्बन्धी तालिममा विशेष गरी घर बनाउने सही स्थानको छनोट, स्थानीय सामग्री (ढुङ्गा, माटो, काठ) गुणस्तर तथा प्रयोग, जग हाल्ने विधि, प्रक्रिया, सुर बाध्ने तरिका, लिन्टर कस्ने तरिका, काठको जोडाइजस्ता ज्ञान सैद्धान्तिक तथा व्यावहारिक रुपमा सिकाइएको छ ।

समुदाय परिचालनका माध्यमबाट समुदायकै प्रत्यक्ष सहभागितामा उनीहरुको आधारभूत आवश्यकता पहिचान गर्न एवम् त्यसको कार्ययोजना तयार गर्न समुदायलाई नेपाल रेडक्रसले सहयोग गरी दीर्घकालीन विकास र योजना निर्माणमा समुदायको स्वामित्व र अपनत्व बढाउन जोड दिएको छ ।

प्राथमिकताका आधारमा समुदायको आवश्यकतालाई सम्बोधन गरी खानेपानी तथा सरसफाइ, जीविकोपार्जनका योजना कार्यान्वयन भइरहेका छन् । जीविकोपार्जन सुधारका लागि पूर्वाधार विकासका योजना सिँचाइ योजना, सडक मर्मत योजना आदिका काममा अति जोखिममा परेका परिवारलाई कामका लागि नगदको अवधारणाबाट काम भइरहेको छ ।

कार्यक्रममा नेपाल रेडक्रससित अमेरिकन रेडक्रस, स्पेनिस रेडक्रस, अस्ट्रेलियन रेडक्रस, ब्रिटिस रेडक्रस, जापानी रेडक्रस सोसाइटी, क्यानेडियन रेडक्रस, डेनिस रेडक्रस, फ्रेन्च रेडक्रस, रेडक्रस सोसाइटी अफ चाइना, स्वीस रेडक्रस, जर्मन रेडक्रसलगायतले सहकार्य गरिरहेका छन् ।

दुई वर्षको अवधि रहेको सो कार्यक्रमबाट समुदायलाई भूकम्प प्रतिकार्यमा सक्षम बनाउने अपेक्षा छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *