भोलि शनिबार नेसनल स्टन्ट ब्याटल हुने

Post Date : December 2, 2016 | 4:07 pm

काठमाडौँ, १७ मङ्सिर । भोलि शनिबार नेपालमै पहिलो पटक राष्ट्रिय स्तरको ‘नेसनल स्टन्ट ब्याटल २०१६’ हुने भएको छ । नेपाल मोटरसाइकल फेडरेसन क्लब (एनएमएफसी) र नेपाल कल्चरल एन्ड एड्भेन्चर इभेन्ट्स (एनसीए इभेन्ट्स) को संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । ललितपुरको सातदोबाटोस्थित स्वीमिङ पुल कम्प्लेक्समा हुने उक्त स्टन्ट शोमा नोभिस र फिमेल इन्डिभिजुअल तथा मेल एक्सपर्ट र टिम गरी चार क्याटागोरीमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका लागि सम्पूर्ण तयारी पुरा भएको एनसीए इभेन्ट्सका निर्देशक सन्तोष न्यौपानेले बताएका छन् ।

प्रतियोगितामा निर्णायकको रुपमा भारतका प्रख्यात स्टन्ट राइडर मिलन प्रधान, अमेरिकामा रहेका रेसर आशीषकुमार शाक्य (एकेएस) र नेपाल मोटरसाइकल फेडरेसन क्लब (एनएमएफसी) का अध्यक्ष सीताराम न्यौपाने रहने छन् । यसमा स्टन्ट राइडरहरुले स्टन्ट मात्र नभई आफ्नो प्राविधिक कौशल समेत प्रदर्शन गर्ने छन् । त्यसैगरी कार्यक्रमको बीचमा साइकल स्टन्ट शो तथा स्केटिङ शो समेत हुनेछ । कार्यक्रम सञ्चालकको रुपमा डाक्टर कर्टले स्केटिङ सुजमै कार्यक्रम सञ्चालन गर्नेछन् ।

मोटरसाइकलमा स्टन्ट गर्नु र यस्तो प्राविधिक कौशलता प्रस्तुत गर्न पाउनु धेरै युवाहरुको चाहना र सपना रहेको पाइन्छ । यस प्रकारका प्रतिस्पर्धाले उनीहरुलाई यस्तो अवसर दिन्छ । भविष्यमा यस्ता खालका प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा समेत सहभागिताका लागि उपयोगी हुन सक्छ । एनएमएफसीले प्रतियोगिताका विजेताहरुका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत सहभागिताका लागि पहल गर्न भूमिका खेल्ने एनएमएफसीका अध्यक्ष सीताराम न्यौपानेले बताए ।

यो भन्दा पहिले रेसमान्डु र क्रसमान्डु जस्ता ठुला मोटरसाइकल स्पोर्ट्स समेत सफलतापूर्वक सम्पन्न गरिसकेको फेडरेसनले एनसीए इभेन्ट्सको सहकार्यमा हुने यो कार्यक्रम पनि भव्य रुपमा सम्पन्न हुने लक्ष्य राखेको छ । उक्त प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को समेत साथ रहेको छ ।

प्रतियोगिताका विजेताहरुलाई शिल्ड, मेडल तथा नगद पुरस्कार समेत प्रदान गरिने छ । प्रतियोगिताको मुख्य प्रायोजक टीभीएस अपाचे रहेको छ । त्यसैगरी प्रायोजकहरुमा एस ब्रिटिश मोटरसाइकल, यूएम मोटरसाइकल र माउन्टेन डिउ रहेका छन् । त्यसैगरी रेडबुल, म्याक लुब्रिकेन्ट्स, क्यास्ट्रोल लुब्रिकेन्ट्स, पेट्रोनास लुब्रिकेन्ट्स आदि समेत सह–प्रायोजक रहेका छन् । मिडिया एन्ड म्यागजिन पार्टनरको रुपमा अटो लाइफ, अटो नेपाल र नेपालअटो डटकम रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *