मतदाता नामावली सङ्कलन सुरु

Post Date : November 14, 2016 | 1:45 pm

बागलुङ, २९ कात्तिक । जिल्लामा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु भएको छ । ५९ गाविस र बागलुङ नगरपालिकाका ११ वडा गरी ७० वटा दर्ता केन्द्रबाट नामावली सङ्कलन गरिनेछ ।

जिल्लालाई छ ‘कलस्टर’ मा विभाजन गरी नामावली सङ्कलन गर्न लागिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आइतबार निसी, बोबाङ, सुखौरा, छिस्ती, अमरभूमि र वानपा–६ मा नामावली सङ्कलन कार्य सुरु भएको छ । प्रत्येक केन्द्रमा दुई दिनसम्म मतदाता नामावली सङ्कलन गरिनेछ ।

आगामी मङ्सिर २३ गतेसम्म कार्यक्रम सञ्चालन हुने जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र पौडेलले बताउनुभयो । “गाविस र नगरपालिकाका वडा कार्यालयमा नामावली सङ्कलन र अद्यावधिक कार्य सञ्चालन हुन्छ” पौडेलले भन्नुभयो “मतदानको अधिकारबाट कोही नागरिक वञ्चित नहुन् भन्ने हाम्रो लक्ष्य हो ।” निर्वाचन आयोगले गत वर्ष ३२ वटा गाविसमा मात्र मतदाता नामावली सङ्कलन र अद्यावधिक गरेको थियो । मतदाता नामावली दर्ता केन्द्रमा दाबी विरोध समेत गर्न पाइने व्यवस्था मिलाइएको छ ।

नयाँ मतदाता दर्तासँगै, दाबी विरोध, त्रुटि सच्याउने, मृत्यु भएकालाई हटाउने र अद्यावधिक गर्ने कार्य गरिने बताइएको छ ।

गत असोज मसान्तसम्ममा जिल्लामा कुल मतदाता सङ्ख्या एक लाख ५४ हजार ८१७ रहेको छ । जसमध्ये महिला ८१ हजार ४४३ र पुरुष ७२ हजार ९७४ रहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *