मध्यपूर्व र उत्तरी अफ्रिका चुनौतीपूर्ण आर्थिक अवस्थामा

Post Date : October 5, 2016 | 5:36 pm

दुबई, १८ असोज । अन्तर्राष्ट्रिय मुद्राकोषले मङ्गलबार एक प्रतिवेदन सार्वजनिक गर्दै मध्यपूर्व तथा उत्तरी अफ्रिकामा क्षेत्रीय तनाव र गृहयुद्धका कारण पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएपछि यस क्षेत्रको जनजीवन आगामी दिनमा आर्थिक रुपमा पनि सङ्कटपूर्ण रहने जनाएको छ ।

कोषले गरेको विश्वको आर्थिक सर्वेक्षण प्रतिवेदनमा भनेको छ, पेट्रोलियम पदार्थमा आएको सामान्य सुधारबाट मध्यपूर्वी तथा उत्तर अफ्रिकी मुलुकको आर्थिक वृद्धिमा खासै प्रभाव पार्न नसक्ने देखिएकोे छ ।

प्रतिवेदनमा दोस्रो विश्वयुद्धपछि पनि यी दुई क्षेत्रका मुलुकले अन्य राष्ट्रको तुलनामा द्वन्द्वका कारण सिरियालगायतका केही मध्यपूर्वी देशहरुमा ठूलो मात्रामा जनधनको क्षति परेको र यी देशहरुमा यसको असर लामो समय आर्थिक सङ्कट रहने मुद्राकोषको भनाई छ ।

मध्यपूर्वी क्षेत्रका सिरिया, इराकलगायतका केही देशमा आन्तरिक शरणार्थीको ठूलो बोझ रहेको छ भने यी देश छोडी छिमेकी मुलुक तथा युरोप र अमेरिका पुग्ने मानिसको भीड पनि सानो छैन ।

सिरिया तथा इराकको द्वन्द्वबाट उम्कन लेबनान तथा जोर्डन पुग्ने आप्रवासीका कारण लेबनानको जनसङ्ख्या एक चौथाईले वृद्धि भएको छ भने जोर्डनको जनसङ्ख्या पनि यसै अनुपातले बढेको छ जसका कारण यी गरिब मुलुकमा जनजीवन प्रभावित बनेको छ ।

सन् २०१६ को जनवरीमा पेट्रोलियम पदार्थमा आएको झन्डै ५० प्रतिशत गिरावट अर्थात् प्रति ब्यारल ४३–४५ अमेरिकी डलर पुगेपछि यसैलाई प्रमुख आम्दानीको स्रोत बनाएका राष्ट्रहरुमा आर्थिक अवस्था कमजोर बन्न पुगेको हो । रासस÷एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *