मलेसिया जाने कामदार सबैभन्दा समस्यामा

Post Date : June 23, 2017 | 6:45 pm

काठमाडौँ, ९ असार । मलेसिया जाने कामदार सबैभन्दा बढी ठगी र समस्यामा पर्ने गरेको एक अध्ययनले देखाएको छ ।

मानवअधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले आज यहाँ सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा देशगत रुपमा मलेसियामा ५६, साउदी अरबमा २१, कतारमा १४, कुवेतमा आठ र अन्य देशमा एक प्रतिशतका दरले समस्या परेको उजुरी दिइएको थियोे ।

जनमञ्चले वैदेशिक रोजगारीका पीडित कामदारलाई छ वर्षदेखि निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएकामा हालसम्म १३ हजार ५५० जनालाई त्यस्तो सहायता प्रदान गरिएको छ ।

त्यसरी पीडित भई उजुरी दिनेलाई रु ३७ करोड ८४ करोड क्षतिपूर्ति पाउने निर्णय भएको ‘वैदेशिक रोजगार पीडितका लागि निःशुल्क कानुनी सहायता परियोजना’ का प्रमुख अधिवक्ता कृष्ण न्यौपानेले जानकारी दिनुभयो ।

उजुरीको प्रकृतिका आधारमा नेपालभित्र ठगीमा पर्नेमा ४५, चिकित्सा जाँचमा अनुत्तीर्ण उजुरी २५, भनेअनुसारको तलब र काम नपाएको २५ र अन्य प्रकारका पाँच प्रतिशत उजुरी पर्ने गरेको छ ।

लैङ्गिकताका आधारमा ८८ प्रतिशत पुरुष र १२ प्रतिशत महिला तथा ठगी हुने माध्यमका आधारमा ६५ प्रतिशत संस्थागत र ३५ प्रतिशत व्यक्तिगत उजुरी परेका थिए ।

जनमञ्चका सल्लाहकार सोम लुइँटेलले पीडित कामदारले उजुरी दिएपछि वैदेशिक रोजगार विभागमा मिलापत्र गर्ने व्यवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो । मिलापत्र गर्दा दोषीलाई कानुनी कारबाही गर्ने बाटो बन्द हुने उहाँको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *