माछापालनमा किसानको आकर्षण बढ्दै

Post Date : February 15, 2018 | 2:21 pm

भीमदत्तनगर, ३ फागुन । पछिल्ला वर्षहरुमा कञ्चनपुरमा व्यावसायिक माछापालनतर्फ किसानको आकर्षण बढ्दै गइरहेको छ । किसानमा माछापालनसँगै प्राविधिक ज्ञानको स्तर पनि बढिरहेको छ ।

जिल्ला कृषि विकास कार्यालयका मत्स्य अधिकृत मोहनबहादुर चन्दले किसानमा माछापालनप्रति आकर्षण बढ्दै गइरहेको बताउनुभयो । उहाँले जिल्लाको बेदकोट, कृष्णपुर, बेलौरी, पुनर्वास, भीमदत्तनगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुरलगायत स्थानीय तहमा माछापालन व्यवसाय फष्टाउँदै गएको बताउनुभयो ।

“पहिले किसान प्राविधिक ज्ञानबिना नै माछापालनमा लागेका थिए,” मत्स्य अधिकृत चन्दले भन्नुभयो, “सरकारको अनुदानका कारण माछापालनमा किसानको आकर्षण बढ्न थालेको छ ।”

जिल्लामा साना र ठूला गरी प्राकृतिक र कृतिम गरी करिब ७०० भन्दा बढी तालमा यहाँ माछापालन गरिँदैआएको छ । कृत्रिमभन्दा पनि ३० बिघासम्मका प्राकृतिक तालमा किसानले समूह बनाएर माछापालन गरिरहेका छन् भने कृत्रिम ताल बनाएर पनि उनीहरु माछापालन गर्दैआएका छन् ।

जिल्लामा २८५ हेक्टरमा माछापालन भइरहेको बताउँदै मत्स्य अधिकृत चन्दले चालू आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कञ्चनपुरको बेलौरी नगरपालिकामा माछापालनका लागि जलाशय निर्माण गर्न रु ९० लाख रकम आएको बताउनुभयो ।

“तीस हेक्टरमा जलाशय बनाउन अनुदान आएको छ,” उहाँले भन्नुभयो, “किसान छनोट गर्ने प्रक्रिया चलिरहेको छ ।” उहाँले प्रतिहेक्टर जलाशय निर्माणका लागि किसानलाई रु तीन लाखका दरले अनुदान दिइने जानकारी दिनुभयो । यहाँ करिब आठ÷नौ जातका माछा किसानले पालिरहेका छन् । हरेक वर्ष जलाशय निर्माणका लागि सरकारले अनुदान उपलब्ध गराउँदै आएको छ ।

उत्पादित माछाका लागि बजारको कुनै समस्या नरहेको उहाँले बताउनुभयो । “बजार क्षेत्रमा अझै भारतीय माछा बिक्रीका लागि ल्याउने गरिएको छ,” उहाँले भन्नुभयो । किसानले माछापालनबाट मनग्य आम्दानी गरिरहेका छन् । पछिल्लो समय बेलौरी नगरपालिका–५ मा माछापालन फस्टाउँदै गएको छ । गाउँका ८० किसान एकताबद्ध भएर सोभातालमा व्यावसायिक माछापालन गर्न थालेका छन् ।

करिब आठ हेक्टरमा रहेको प्राकृतिक तलाउलाई व्यवस्थित गरेर सोभाताल मुक्त कमैया शिविरका किसानले व्यावसायिक माछापालन गरिरहेका छन् । विसं २०६० देखि नै सोभातालमा माछापालन गरिए पनि गतवर्षदेखि व्यवस्थित रुपमा थालिएको माछापालनमा आबद्ध कृपाराम चौधरीले बताउनुभयो ।

“पोखरीको डिल बनाउन र पानीका लागि मोटर र बोरिङको लागि दातृ निकायले सहयोग गरेपछि माछापालन गर्न थालेका हौँ,” चौधरीले भन्नुभयो, “विगत वर्षमा वार्षिक रु तीन लाखसम्म कमाइ भएको थियो ।”

बेलौरी नगरपालिका–३ का किसानले पनि समूह बनाएर व्यावसायिक माछापालन गर्दैआएका छन् । स्थानीयवासीले कर्णाली व्यावसायिक माछापालन समूह बनाएर माछापालन थालेको समूहका कोषाध्यक्ष सावित्रा रावलले बताउनुभयो । त्यहाँ डेढ बिघा जमिनमा माछापालन गरिएको छ ।

बेदकोट नगरपालिका–७ गाउजीका राजीव शर्मा लेखकले रु तीन करोडको लगानीमा व्यावसायिक माछापालन गरिरहेका छन् । करिब १० बिघा जमिनमा उहाँले पोखरी निर्माण गरी विगत दुई वर्षदेखि माछापालन गर्दैआउनुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएका लेखकले लामो समय काठमाडौँमा जागिरपछि केही वर्षयता कञ्चनपुरमा आएर कृषि पेशामा लाग्नुभएको हो ।

बेदकोट नगरपालिका–६ का हरिराम चौधरी पनि विगत अढाइ दशकदेखि माछापालन व्यवसायमा हुनुहुन्छ । उहाँले करिब १२ बिघामा माछा पोखरी निर्माण गरी माछापालन गरिरहनुभएको छ । माछा उत्पादनबाट वार्षिक रु आठ लाखदेखि रु १० लाखसम्म आम्दानी हुने गरेको चौधरी बताउनुहुन्छ । जलाशय निर्माणका लागि जिल्ला कृषि विकास कार्यालयले अनुदान उपलब्ध गराएको उहाँको भनाइ छ ।

भुरा बेचेरै वार्षिक आठ लाख आम्दानी

विसं २०५६ देखि कञ्चनपुरमा पहिलो पटक माछाका भुरा उत्पादन गर्दै आउनुभएका शुक्लाफाँटा नगरपालिका–१ का पल्टु चौधरी वार्षिक भुरा बिक्रीबाट मात्रै रु आठ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

भुरा उत्पादन गर्ने ह्याचरी सञ्चालनमा ल्याएका चौधरीकहाँ प्रदेश नंं ७ का सबै जिल्ला तथा बर्दियाबाट समेत किसान भुरा खरिदका लागि आउने गरेका छन् । उहाँले माछापालन २०५० सालदेखि नै थाल्नुभएको हो । पछि गएर माछाका भुरा उत्पादन र बिक्रीमा समेत हात हाल्नुभयो ।

“वार्षिक रु ७० लाखदेखि रु ७५ लाखसम्मको भुरा बिक्री हुने गरेको छ,” चौधरीले भन्नुभयो–“रु आठ लाखदेखि रु १२ लाखसम्म भुरा बिक्रीबाट नाफा हुन्छ ।” उहाँले दुई बिघा जमिनमा माछापालन गर्दैआउनुभएको छ ।

सात प्रजातिका माछाका भुरा उत्पादन गर्दै आउनुभएका चौधरीले भुरा फागुनदेखि भदौ महिनासम्म उत्पादन गर्नुहुन्छ । “बिक्री त बाह्रैमास हुन्छ,” उहाँले भन्नुभयो, “बजारमा माछा पु¥याउनै सकिएको छैन ।” (शेरबहादुर सिंह–रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *