माछामा आत्मनिर्भर बन्न पकेट क्षेत्र

Post Date : May 4, 2016 | 3:16 pm

तिलोत्तमा (रुपन्देही), २२ वैशाख । माछा उत्पादनबाट आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाका तीनवटा क्षेत्रलाई पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ ।

जिल्लाको धकधई, लुम्बिनी र छपियालाई पकेट क्षेत्रका रुपमा विकास गर्न जिल्ला कृषि विकास कार्यालयले काम अगाडी बढाएको छ । तीनवटै क्षेत्रमा एक हजार हेक्टर जलाशययुक्त क्षेत्र निमार्ण गर्ने तयारी भइरहेको मत्स्य विकास अधिकृत रमेश जैसवालले जानकारी दिनुभयो ।

जिल्लाका २० गाविसमा माछा उत्पादन हुँदै आएको छ । मूलुकभर अहिले माछाको खपत वार्षिक ८२ हजार मेट्रिक टन रहेकामा ६९ हजार मेट्रिक टन नेपाली उत्पादन रहेको छ ।

निर्देशनालयका निर्देशक रामानन्द मिश्र एक हजार हेक्टर क्षेत्रफललाई सुपर जोनका रुपमा विकास गरिने बताउनुहुन्छ । जिल्लामा अहिले प्रतिहेक्टर ४.५ मेट्रिक टनका दरले वार्षिक ४५० मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । दुई हजार १५० बढी किसान तीन हजार ८५० पोखरी निर्माण गरी माछापालन व्यवसायमा संलग्न छन् ।

नेपाल मत्स्य व्यवसायी सङ्घका जिल्ला अध्यक्ष पुण्यप्रसाद चौधरी उत्पादन बढाउन सरकारले पुराना पोखरीको मर्मतमा अनुदान दिनुपर्ने बताउनुहुन्छ । वार्षिक रु एक अर्ब बढीको कारोबार हुने गरेको उहाँको भनाइ छ । जिल्लामा ५० वटा कृषक समूह, सातवटा ह्याचरी, १६ वटा मत्स्य नर्सरी, तीनवटा दाना उद्योग र एउटा प्रशोधन केन्द्र रहेको छ भने ८१ वटा मत्स्य फार्म दर्ता छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *