माथिल्लो तामाकोसीको उनासी प्रतिशत कार्य पूरा

Post Date : June 13, 2016 | 4:53 pm

दोलखा, ३१ जेठ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ७९ प्रतिशत कार्य सम्पन्न भएको छ ।

विसं २०७३ सालमै सम्पन्न गर्ने लक्ष्य लिइएको तामाकोसी आयोजना भूकम्प र नाकाबन्दीका कारण काम रोकिएपछि एक वर्ष पछि धकेलिएको हो । लामाबगर गाविसमा निर्माण भइरहेको ४५६ मेगावाट विद्युत् क्षमता भएको सो आयोजना २०७३ सालभित्र सम्पन्न गर्ने बताइएको थियो ।

आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले २०७३ पुसमा काम सम्पन्न गरी उत्पादन गर्ने योजनाको साथ अघि बढिरहेका अवस्थामा भूकम्प र नाकाबन्दीका कारण एक वर्ष ढिलाइ भएको बताउनुभयो । “निर्धारित समयमै काम सम्पन्न हुन्छ,” उहाँले भन्नुभयो । करिब रु ३५ अर्बमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माण सम्पन्न हुँदासम्म रु ५० अर्ब पुग्ने अनुमान गरिएको छ ।

प्रवक्ता न्यौपानेले हाल लामाबगरमा विद्युत् गृहको कामबाहेक अरु सबै काम सञ्चालन भइरहेको बताउनुभयो । लामाबगर पुुग्ने बाटोमा भूकम्पसँगै आएको पहिरो नरोकिएका कारण काभ्रे भिरबाट लामाबगरको मौरेखोलासम्म ३६० मिटर लामो सुरुङ निर्माण भइरहेको छ । सुरुङ निर्माणको काम आयोजनाको मुख्य ठेकेदार कम्पन्नी सिनोहाइड्रोले गरिरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *