माथिल्लो तामाकोसीको बयासी प्रतिशत काम सम्पन्न

Post Date : December 6, 2016 | 4:20 pm

काठमाडौँ, २१ मङ्सिर । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कार्य तीव्र रुपमा अगाडि बढिरहेको छ ।

आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार स्थानीय काब्रे भिरको ३३७ मिटर लामो सुरुङमार्ग निर्माण सम्पन्न भएको छ । भूकम्पले पहुँचमार्ग भत्काएपछि आयोजनाले जर्मनीबाट सुरुङ बनाउने मेसिन भित्र्याएको थियो ।

कुल ४५६ मेगावाट क्षमताको उक्त आयोजनालाई तोकिएको समयभन्दा शीघ्र सम्पन्न गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत कात्तिक २३ गते स्थलगत अवलोकन गरी निर्देशन दिनुभएपछि आयोजनाको कामले गति लिएको हो ।

प्रधानमन्त्रीले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमार्फत राष्ट्रिय गौरवका आयोजनाको आफैँ निरीक्षण गर्ने निर्णय गर्नुभएको छ । सोही निर्णय बमोजिम माथिल्लो तामाकोसीको स्थलगत अवलोकन गर्दै तोकिएको समयभन्दा छ महिना पहिले सम्पन्न गरे सरकारले पुरस्कृत गर्ने बताउनुभएको थियो ।

प्रवक्ता न्यौपानेका अनुसार सो आयोजनाको ८२ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलका लागि सुनकोसी नदीमा डाइभर्सन बनाएर सामान ल्याउने तयारीमा आयोजना रहेको छ । “विद्युत्गृहको काम पनि अन्तिम चरणमा पुगेको छ,” प्रवक्ता न्यौपानेले भन्नुभयो – “आयोजना आव २०७४÷७५ मा सम्पन्न हुन्छ ।”

पूर्णरुपमा स्वदेशी लगानीमा निर्माण भइरहेको सो आयोजना गत वर्षको गोरखा भूकम्प र भारतीइ नाकाबन्दीका कारण छ महिनाभन्दा बढी समय अवरुद्ध भएको थियो । यस्तै प्रसारण लाइनको कुल १२७ वटा टावरमध्ये ९६ वटा टावरको फाउन्डेसनको काम सम्पन्न भएको छ भने आधाभन्दा बढी टावरमा तार तान्ने काम भइरहेको छ ।

सरकारले उक्त आयोजनामा सहिद परिवार र विपन्न नागरिकलाई समेत सेयर उपलब्ध गराउने तयारी गरेको छ । स्थलगत अवलोकनका क्रममा प्रधानमन्त्रीले सरकारको रु ११ अर्ब रकम सेयरमा बदल्ने तयारी गरेको बताउनुभएको थियो ।

अर्थमन्त्रालयले समेत प्रभावकारी रुपमा अगाडि बढेका आयोजनालाई रकमको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ । थौरैमात्रै भौतिक तथा वित्तीय प्रगति भएका राष्ट्रिय गौरवका आयोजनामध्ये हालसम्मकै उल्लिखनीय आयोजनामा माथिल्लो तामाकोसी रहेको राष्ट्रिय योजना आयोगमा प्राप्त भएको प्रतिवेदनमा समेत उल्लेख छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *