मुक्तिनाथ विकास बैंकको ५६ औं शाखा काठमाडौँको सितापाईलामा

Post Date : March 30, 2017 | 6:25 pm

काठमाडौँ, १७ चैत । मुक्तिनाथ विकास बैंक लिमिटेडले २०७३ चैत्र १७ गते काठमाडौँ जिल्ला, नागार्जुन नगरपालिका वडा नं. ४, सितापाइलामा शाखा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर ज.ब.रा.ले गर्नुभयो ।

उद्घाटन मन्तव्यका क्रममा उहाँले यस विकास बैंकले एकैसाथ सञ्चालन गरेको आधुनिक बैंकिङ्ग, सीमित बैंकिङ्ग र लघुवित्त सेवा उत्कृष्ट रहेको बताउनु भयो । साथै यस विकास बैँकले वित्तीय सेवाको अलावा सामाजिक सेवाभाव पनि रहेको देखिएको छ । आफ्ना ग्राहकहरुलाई चिनेर दिएको सेवाले बैँकको दिगोपनामा अवश्य सहयोग गर्ने बताउनु भएको थियो ।

बैकका सञ्चालक समितिका सदस्य नारायण कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा सितापाइला शाखाका शाखा प्रबन्धक भरत खनालले स्वागत मन्तव्य राख्नुभयो भने बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको विगत, वर्तमान अवस्था र बैँकको भावी रणनीतिका बारेमा चर्चा गर्नु भएको थियो । बैँकले नेपाली समाजका विद्यमान समस्याहरु समाधान गर्न र कृषि क्षेत्रको विकास र विस्तार गर्न उपयुक्त वित्तीय सेवाहरु प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको बताउनु भएको थियो । उक्त कार्यक्रममा नेपाल सरकारका पूर्व अर्थ सचिव माधव घिमिरे र वरिष्ठ साहित्यकार श्रीप्रसाद घिमिरेले शुुभकामना मन्तव्य राख्नु भएको थियो ।

उक्त शाखा उद्घाटन कार्यक्रममा उक्त क्षेत्रका कर्मचारी, व्यापारी, समाजसेवी, र स्थानीय नागरिकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

बैंकले “जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ” भन्ने मान्यतालाई आत्मसात गर्दै नेपालको परिवेश सुहाउँदो कुल ५६ वटा शाखा कार्यालयहरुबाट १ लाख भन्दा बढी लघुवित्त सदस्यहरु सहित कुल ३ लाख भन्दा बढी सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गरिरहेको छ । यस विकास बैँकले हाल कुल रु. १५ अर्ब २० करोड निक्षेप संकलन गरी रु. १३ अर्ब ७५ करोड कर्जा लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *