मुटुसम्बन्धी गुणस्तरीय सेवा सातै प्रदेशमा विस्तार गरिने

Post Date : January 29, 2018 | 9:40 pm

काठमाडौँ, १५ माघ । गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रुपमा विकास गर्नुपर्ने माग गरिएको छ ।

केन्द्रको २२ औँ वािर्षकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री दीपक बोहराले मुटुको उपचारमा केन्द्रले गरेको कामको प्रशंसा गर्दै यसको विकासमा स्वास्थ्य मन्त्रालय सदैव सकारात्मक रहेको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा गीताभक्त जोशी र स्वास्थ्य सचिव डा पुष्पा चौधरीले नेपालमै मुटुको रोगको उपचार सम्भव बनाउन केन्द्रको महत्वपूर्ण भूमिका भएको उल्लेख गर्नुभयो ।

केन्द्रका कार्यकारी निर्देशक डा ज्योतीन्द्र शर्माले शैक्षिक संस्थाका रुपमा विकास गर्न केन्द्रको सञ्चालक समितिबाट पारित गरी सम्पूर्ण विवरण स्वास्थ्य मन्त्रालयमा पठाइएको भए पनि काम अगाडि बढ्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘ मुटुसम्बन्धी गुणस्तरीय सेवालाई सातै प्रदेशमा विस्तार गर्ने सोचअनुरुप पर्याप्त जनशक्तिको आवश्यकता पर्छ, हामीले शैक्षिक प्रतिष्ठान सञ्चालन गरी जनशक्ति उत्पादन गर्न सकेमा मात्र सेवाको विकेन्द्रीकरण गर्न सक्छौँ, त्यसका लागि सरकारको ध्यानाकर्षण हुनु आवश्यक छ ।’’

केन्द्रका वरिष्ठ मुुटुरोग विशेषज्ञ डा दिवाकर शर्माले उच्चस्तरीय जनशक्ति उत्पादन गर्न बारम्बार सरकारसमक्ष अनुरोध गरिए पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो ।

जनकपुर अञ्चल अस्पतालमा शाखा विस्तारका लागि बजेट विनियोजित भई स्थलगत अध्ययनबमोजिम काम अघि बढाइएको जनाइएको छ । नेपालका युवामा मुटु रोगको समस्या बढ्दै गएकाले सरकारले बाथ मुटुरोगको उपचार, शल्यक्रिया, औषधिलगायत सम्पूर्ण सेवा केन्द्र र मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमार्फत निःशुल्क प्रदान गर्दै आएको छ ।

सरकारले मुटुरोगीका लागि रु एक लाख प्रदान गर्नाका साथै १५ वर्षमुनिका बालबालिका र ७५ वर्षमाथिका नागरिकको मुटुको सम्पूर्ण उपचार निःशुल्क रुपमा गर्दै आएको छ । शहीद गंगालाल श्रेष्ठको सम्मानमा २०५२ सालमा शुरु गरिएको केन्द्र पूर्णरुपमा सरकारको आर्थिक सहयोगमा सञ्चालन भएको सरकारी अस्पताल हो ।

नौ शैय्याबाट सेवा सञ्चालन गरेको केन्द्रले अहिले २०० शैय्या पुरयाई बिरामीको उपचार गरिहेको छ । आव २०७३÷०७४ मा केन्द्रले १५ वर्षमुनिका ७८७ बालबालिका र ७५ वर्षमाथिका ४६५ नागरिकको मुटुको निःशुल्क शल्यक्रिया गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *