मूल्य घटाएपछि इन्डक्सन चुलोको बिक्री बढ्यो

Post Date : June 27, 2017 | 11:25 am

काठमाडौँ, १३ असार । मूल्य घटाएर इन्डक्सन चुलो बेचेपछि बिक्री बढेको छ ।

भारत सरकारले लगाएको अघोषित नाकाबन्दीका बेला चीन सरकारले अनुदान स्वरुप दिएको इन्डक्सन चुलोको मूल्य बढी हुँदा बिक्री हुन नसकेकोमा मूल्य घटाएर बेचेपछि बिक्री बढेको हो ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले चुलो बिक्री नभएपछि आपूर्ति मन्त्रालय र नेसनल ट्रेडिङ कर्पोरेसन लिमिटेडका कर्मचारीलाई बोलाएर तत्काल मूल्य समायोजन गरेर बिक्री गर्न निर्देशन दिएको थियो ।

समितिको निर्देशनअनुसार अहिले रु चार हजार मूल्य निर्धारण गरी बिक्री वितरण गरिएको कर्पोरेसनकी सूचना अधिकारी गीता निरौलाले जानकारी दिनुभयो ।

कर्पोरेसनले हालसम्म एक हजार ५०० थान इन्डक्सन चुलो बिक्री गरेको छ । २०७२ मङ्सिर २५ गते चीन सरकारले अनुदानस्वरुप दिएका ११ हजार ३०० चुलोेमध्ये एक हजार ५०० थान मात्र बिक्री भएको हो ।

चीन सरकारले अनुदानस्वरुप दिएका चुलोमध्ये सुरुमा एक हजार ३०० थान केरुङ नाकाबाट र पछि १० हजार थान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिएको थियो ।

चीन सरकारले दिने अनुदानस्वरुप रु नौ करोड ५५ लाख मूल्य बराबरका इन्डक्सन चुलो नेपालमा पठाइएको थियो ।

आपूर्ति मन्त्रालयका सहसचिव शम्भुप्रसाद घिमिरेको अध्यक्षतामा मूल्य निर्धारण गर्न बसेको बैठकले ढुवानी, पारवहन, भन्सार मिनाहासहितको शुल्क जोडेर चुलोको मूल्य रु ११ हजार ९९५ कायम गरेपछि चुलो बिक्री हुन सकेको थिएन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *