मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंक गाभ्ने सहमति

Post Date : January 22, 2017 | 1:21 pm

काठमाडौँ, ८ माघ । मेगा बैंक नेपाल लिमिटेड र टुरिजम डेभलपमेन्ट बैंक एक आपसमा गाभ्ने/गाभिने भएका छन् । दुवै बैंकबीच मर्जरको सैद्धान्तिक सहमति भएको छ ।

सैद्धान्तिक सहमतिपत्रमा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र टुरिजम डेभलपमेन्ट बैंकका अध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले हस्ताक्षर गर्नु भएको छ ।

मर्जरपछि बैंकको नाम मेगा बैंक नेपाल लिमिटेड र अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत रहने सहमति भएको छ ।

त्यस्तै अन्तिम शेयर आदान–प्रदान अनुपात डिडिए प्रतिवेदनका आधारमा फरक पर्न सक्ने गरी हाललाई मेगा बैंकको १०० शेयर बराबर टुरिजम डेभलपमेन्ट बैंकको ९५ शेयर तय गरिएको छ ।

मेगा बैंकको चुक्ता पूँजी ४ अर्ब १ करोड रुपैयाँ रहेको छ । पश्चिमाञ्चल फाइनान्स लिमिटेडलाई गाभेपछि बैंकले २५ प्रतिशत हकप्रद र १३ दशमलब २५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । पुनः ६५ प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव गरेको छ । सो प्रस्ताव बैंकको साधारण सभाबाट पारित हुन बाँकी नै छ ।

त्यस्तै टुरिजम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ९१ करोड ९७ लाख रुपैयाँ रहेको छ । टुरिजम डेभलपमेन्ट बैंकले मातृभूमि विकास बैंक र कालिञ्चोक डेभलपमेन्ट बैंकलाई प्राप्ती गरी पुस २४ गतेदेखि एकीकृत कारोवार गरेको थियो । बैंकले मर्जरपछि १८ दशमलब ६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गरेर मात्र मर्जर प्रक्रिया अघि बढाउने जनाइएको छ ।

मेगा बैंकको बोनस र हकप्रद शेयर निष्काशनपछि चुक्ता पूँजी ७ अर्ब ५७ करोड रुपैयाँ पुग्नेछ भने टुरिजम डेभलपमेन्ट बैंकको पनि बोनस र हकप्रद शेयर वितरणपछि चुक्ता पूँजी २ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *