मोटरसाइकल रेसिङ ‘रेसमान्डु’ वैशाख २३ गते हुने

Post Date : May 2, 2017 | 2:50 pm

काठमाडौँ, १९ वैशाख । युवाहरुका बीचमा अति नै लोकप्रिय र एक मात्र मोटरसाइकल रेसिङ ‘रेसमान्डु’ आगामी मे ६ अर्थात वैशाख २३ गते ललितपुरको सातदोबाटोस्थित स्वीमिङ पुल कम्पाउन्डमा हुने भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) मा आबद्ध नेपाल मोटरसाइकल फेडरेसन क्लब (एनएमएफसी) को आयोजनामा हुन लागेको रेसमान्डुमा नोभिस अन्तर्गत २ समूह र नेसनल गरी ३ समूहमा खेल सञ्चालन हुने प्रेस विज्ञप्ती मार्फत जनाइएको छ ।

नोभिस क्याटागोरी ए समूहमा १९८ सिसी सम्मका र नोभिस क्याटागारी बी मा १९९ देखि २५० सिसीका मोटरसाइकल राइडर सहभागी हुने छन् । नासा अन्तर्गतको एनएमएफसीले वितरण गरेको मोटरसाइकल स्पोर्ट्स लाइसेन्स प्राप्त राइडर मात्र प्रतियोगितामा सहभागी हुन सक्ने छन् । विजेताहरुलाई शिल्ड, मेडल, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ ।

रेसमान्डु २०१७ को मुख्य प्रायोजक यामाहा आरथ्री मोटरसाइकल रहेको छ । त्यसैगरी पेट्रोनस स्प्रिन्टा लुब्रिकेन्ट्स, रेडबुल इनर्जी ड्रिंक र पिरेली मेटजेलर टायर इभेन्ट पार्टनर रहेका छन् । इभेन्टलाई हिट्को प्रालि, आयल ल्युब सिस्टम र गणेशमान सिंह हस्पिटलको सहयोग रहेको छ । त्यसैगरी एपी वान टिभी, क्लासिक एफएम रेडियो, अटो लाइफ तथा अटो एक्सप्रेस म्यागेजिन र नेपालअटो डटकमले मिडिया पार्टनरको रुपमा भूमिका निभाउँदै छन् ।

पर्वतीय खेलकुद महासंघको प्रस्ताव एवं समन्वयमा पाँचौ पर्वतीय खेलकुद महोत्सव २०१७ अन्तर्गत यो प्रतियोगिता सञ्चालन हुने भएको हो । पाँचौ पर्वतीय खेलकुद महोत्सव अन्तर्गत नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) र राष्ट्रिय खेलकुद परिषदले समेत यो इभेन्टलाई सहयोग गरेका छन् ।

प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीका लागि यामाहा सोरुम र नासा कार्यालयमा फारम उपलब्ध गराइएको छ । बुधबार दिउसो ३ बजेसम्म फारम दर्ता गरेका खेलाडी मात्र प्रतियोगितामा सहभागी हुन पाउने छन् । सिंगल खेलमा भाग लिनका लागि ३ हजार र डबल खेलका लागि ४ हजार रजिष्ट्रेसन शुल्क तोकिएको छ । प्रतियोगिता हेर्नका लागि २ सय रुपैयाँको टिकट लाग्ने छ । यसमा ८० भन्दा बढी मोटरसाइकल राइडर सहभागी हुने अपेक्षा गरिएको छ । नेसनल क्याटागोरीको प्रतियोगितामा राइडरहरुले यामाहा आर १५ मोटरसाइकल कुदाउने छन् ।

नासाले यो भन्दा पहिले पनि चार वटा रेसमान्डु सफलतापूर्वक सम्पन्न गरिसकेको छ । रेसमान्डुको यो पाँचौ संस्करण हो । यो भन्दा पहिले सफलतापूर्वक सबै इभेन्ट सम्पन्न भएको थियो । यसको पाँचौ संस्करण पनि भव्य रुपमा सम्पन्न हुने आशा हामीले गरेका छौं ।
पहिलेका विजेताहरु विदेशमा भएका विभिन्न रेसिङ इभेन्टमा सहभागी भइसकेका छन् । यस पटकका विजेतालाई पनि विदेशमा हुने विभिन्न इभेन्टमा भाग लिनका लागि मौका प्रदान गरिने कुरा समेत उक्त प्रेस विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *