मोबाइलबाटै सम्पूर्ण आर्थिक कारोवार गर्न मिल्ने

Post Date : August 20, 2016 | 12:15 pm

काठमाडौं, ३ भदौ । एनसेलले मोबाइल फाइनान्सियल सर्भिस सेवा सुरु गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले ग्राहकलाई फाइनान्सियल सर्भिस प्रदान गर्न छुट्टै कानुनी व्यवस्थासहितको नीति ल्याएको थियो ।

नेपाल राष्ट्र बैंकले ल्याएको नीतिअनुरुप मोबाइल फाइनान्सियल सर्भिस अन्तर्गत देशभित्र र देशबाहिर फण्ड ट्रान्सफर गर्न, आफ्ना बिल मोबाइलबाटै तिर्न र अन्य आर्थिक कारोवार जहाँबाट पनि सजिलै गर्न सकिने खालको सेवा दिने एनसेलले जनाएको छ ।

यस्तो प्रकारको वित्तीय कारोवार गर्न टेलिकम कम्पनीले सब्सिडियरी कम्पनी खोलेर नेपाल राष्ट्र बैंकबाट अनुमति लिनु पर्नेछ ।

शाखारहित बैंकिङ्ग सेवाको अवधारणा अनुरुप देशका ग्रामीण तथा दुर्गम भेगका जनतालाई यस्तो किसिमको फाइनान्सियल सर्भिसले फाइदा पुग्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार मोबाइल फाइनान्सियल सर्भिसमा मोबाइलबाटै भुक्तानी, ऋण दिने वा लिने, रकम निकाल्ने वा तिर्ने, कुनै व्यक्तिलाई रकम पठाउने वा पठाएको पैसा लिने जस्ता वित्तीय तथा आर्थिक कारोवार पर्नेछन् ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार देशभर रहेका बैंक तथा वित्तीय संस्थामा १ करोड ६१ लाख बचत खाता रहेका छन् । ती बचत खातावालामध्ये १५ लाखले मोबाइल बैंकिङ्ग सेवाबाट फाइदा लिइरहेका छन् । अहिले एनसेलको मोबाइल फोन सेवा १ करोड ४० लाख ग्राहकले प्रयोग गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *