म्यूजिक भिडियोमा लमजुङका पर्यटकीय गाउँ

Post Date : March 17, 2017 | 9:54 pm

बेँसीसहर (लमजुङ), ४ चैत । पछिल्लो समय जिल्लाका पर्यटकीय गाउँलाई म्युजिक भिडियोमा समावेश गरिन थालिएको छ ।

गाउँको पर्यटन प्रवर्द्धनका लागि म्युजिक भिडियोमा समावेश गर्न थालिएको घलेगाउँ ग्रामीण पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले बताउनुभयो । पर्यटन प्रवर्द्धनका लागि तयार पारिएका प्रायः सबै म्युजिक भिडियोमा गाउँको विविधतालाई समेटिएको छ । स्थानीय संस्कार, संस्कृति, वेषभूषा, प्राकृतिक सुन्दरता, धार्मिक आस्था, पुरातत्विक सम्पदालाई भिडियोमा समेटिएको छ ।

पर्यटन व्यवस्थापन उपसमिति सिउरुङका सचिव उमरबहादुर गुरुङले म्युजिक भिडियो हेरेपछि पर्यटक थप आकिर्षत भएका बताउनुभयो । “म्युजिक भिडियो सबैले हेर्ने भए, गाउँमा जे छन्, सबै देख्छन्,” उहाँले भन्नुभयो– “भिडियो हेरेर मन पराउने गाउँ आउँछन्, भिडियोमा देखिएका दृष्यको स्थलगत अवलोकन गर्छन् ।”

गुरुङ चलचित्रका नायक एवम् मोडल विष्णु गुरुङले शान्ति प्रक्रियापछि गाउँगाउँमा आन्तरिक पर्यटक बढेको र त्यसपछि गाउँ चिनाउने म्युजिक भिडियो निर्माणले गति लिएको बताउनुभयो । गाउँको बारेमा गित लेख्ने, त्यही गितको आधारमा भिडियो बनाउने र गाउँमा आएका पाहुनालाई त्यही गितमा नाचेर स्वागत गर्ने प्रायः गाउँको चलन छ । म्युजिक भिडियो बनाइएका गाउँमा हुने सभा, तथा अन्यत्र हुने विशेष कार्यक्रममा पनि तिनै गितमा विशेष नाच देखाउने चलन छ ।

घलेगाउँ, भुजुङ, ताघ्रिङ, पाचोक, नाल्मा, सिउरुङ, दुराडाँडा, समिभञ्ज्याङ, पुरानकोट, भोजे, मपिङ, बाहुनडाँडा भिरपुस्तुन, पसगाउँलगायत गाउँलाई समेटेर म्युजिक भिडियो बनिसकेका छन् । गीत कतिपय गुरुङ भाषामै छन् भने पछिल्लो समय नेपाली भाषामा लेखिएका गीत बढी मात्रामा प्रयोगमा आउने गरेका छन् । रासस÷सन्देश पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *