यार्सागुम्बाबाट रु एक करोड राजस्व

Post Date : July 24, 2016 | 4:30 pm

भीमदत्तनगर, ९ साउन । सुदूरपश्चिममा यार्सागुम्बा सङ्कलनबाट आर्थिक वर्ष २०७२/७३ मा रु एक करोड १९ हजार ५०० राजस्व सङ्कलन भएको छ ।

यार्सा सङ्कलन हुने सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ र दार्चुलामा गरी हालसम्म तीन क्विन्टल ६६ किलो यार्सा जिल्ला बाहिर निर्यातका लागि छुटपूर्जी लिइएको छ । अपि नाम्पा संरक्षण कार्यालय दार्चुलाका अनुसार गत असार मसान्तसम्म जिल्लाबाट दुई क्विन्टल ५७ किलो यार्साको छुटपूर्जी लिइएको छ ।

जिल्लाबाहिर लैजान प्रतिकिलो यार्साको रु २५ हजारका दरले छुटपूर्जीबापत व्यापारीले राजस्व बुझाउने गरेका छन् । अपि नाम्पा संरक्षण क्षेत्रका सहायक संरक्षण अधिकृत चन्द्रबहादुर चन्दका अनुसार छुटपूर्जी लिने आउने क्रम आगामी असोज महिनासम्म चलिरहन्छ । जिल्लामा दुई क्विन्टल ५७ किलोको रु ७४ लाख ३० हजार राजस्व सङ्कलन भएको र छुटपूर्जी लिन आउने क्रम जारी रहेकाले राजस्व बढ्ने चन्दको भनाइ छ ।

त्यसैगरी बझाङ्मा एक क्विन्टल नौ किलो यार्साको छुटपूर्जीबापत रु २७ लाख ९२ हजार राजस्व सङ्कलन भएको छ । जिल्ला वन कार्यालयका नायब सुब्बा गजाधर जोशीका अनुसार अहिलेसम्म व्यापारीले एक क्विन्टल नौ किलो यार्साको छुटपूर्जी लिएका छन् । “विगत वर्षको तुलनामा यार्सा सङ्कलनमा कमी आएको छ,” उहाँले भन्नुभयो ।

दार्चुलाको घुसा, खण्डेश्वरी, सित्तोला, गुल्जर, ब्याँस र राप्ला गाविसमा तथा बझाङको काँडा, धमेना, सुनिकोट, दउचौर, दहबगर र सुर्मा गाविसमा बर्सेनि जेठदेखि साउन पहिलो सातासम्म यार्सागुम्बा सङ्कलन गरिन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *