यार्सा व्यापारीलाई स्कर्टिङमा चीन लगिने

Post Date : August 2, 2016 | 3:09 pm

डोल्पा (दुनै) १८ साउन । बहुमूल्य जडीबुटी यार्सागुम्बा बिक्री वितरणका लागि छिमेकी राष्ट्र चीन लैजाने तयारी भइरहेको छ ।

यार्चागुम्बा सिजन सकिएलगत्तै सदरमुकाम दुनैमा यार्सागुम्बा बेच्न चीन जाने व्यापारीको घुइँचो लागेको छ ।

डोल्पाका लागि व्यापारिक नाका चीनमा बहुमूल्य जडीबुटी यार्सागुम्बा प्रतिकिलो रु १५ लाखदेखि रु ३० लाख मूल्यसम्ममा बिक्री वितरण हुने भएकाले व्यापारी यार्सा बेच्न आफैँ चीन जाने गर्दछन् ।

अघिल्ला वर्षमा यार्सागुम्बा व्यापारी माथि भएको करोडौँ बराबरको लुटपाटका डरले गत वर्षदेखि प्रहरी सुरक्षामा यार्सागुम्बा व्यापारीलाई चीन लैजाने र ल्याउने तयारी गरिएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

यार्सागुम्बा बिक्री गर्न चीन जाने व्यापारी ५० जनाभन्दा धेरै सदरमुकाममा जम्मा भएका र बुधबार प्रहरी स्कटिङमा व्यापारीलाई चीन लैजाने तयारी भइसकेको खड्काले जानकारी दिनुभयो ।

प्रहरीले यार्सागुम्बा बेच्न चीन जाने व्यापारीलाई आजसम्मका लागि सदरमुकाम दुनैमा जम्मा हुन विभिन्न माध्यमबाट सूचना जारी गरेको थियो ।

प्रहरी आफैँ जाने भएकाले यस वर्ष व्यापारीलाई कुनै किसिमको चिन्ता नलिन आग्रह समेत गरेको छ । करिब सात दिनको पैदलयात्रा पछि व्यापारिक नाका चीन पुगिने गर्दछ ।

हरेक वर्ष यार्सागुम्बा सिजन सकिएलगत्तै यार्सा कारोबारका लागि मात्र निश्चित समयका लागि नाका खुल्ने गर्दछ ।

यार्सागुम्बा बेचेर व्यापारी नजिकिँदो दसँै तिहारमा बिक्री गर्न तथा घरायसी प्रयोजनका लागि भेडा, च्याङ्ग्रा, भाँडा, कपडालगायतका चाइनिज सामान समेत ल्याउने गर्दछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *