रत्न, पत्थर निकासी बन्द गर्दा वार्षिक ५० करोड घाटा

Post Date : April 26, 2017 | 5:41 pm

काठमाडौँ, १३ वैशाख । राज्यले बहुमूल्य रत्न, पत्थर निकासी बन्द गर्दा वार्षिक रु ५० करोड घाटा हुने गरेको छ ।

नेपाल हस्तकला महासङ्घले आज यहाँ आयोजना गरेको ‘नेपाली रत्न, पत्थरको व्यवसायी सम्भावना, चुनौती र समाधान’ विषयक अन्तक्र्रियामा बोल्ने वक्ताहरुले राज्यले तीन वर्षअघिदेखि बहुमूल्य रत्न, पत्थरको निकासी बन्द गर्दा खानी क्षेत्रका ५० हजार मानिस बेरोजगार तथा राज्यको रु ५० करोड रकम घाटा भएको बताएका हुन् ।

अन्तक्र्रियामा खनिज तथा खानी सङ्घका अध्यक्ष गोपालराज रेग्मीले वार्षिक पाँच सय मेट्रिक टन रत्न, पत्थर निकासी रोकिएको बताउनुभयो । उहाँले भन्नुभयो – “उद्योग मन्त्रालय रत्नपत्र क्षेत्रको विकासका बाधक तत्वलाई निर्मूल गर्नेतर्फ उदासीन छ ।”

उहाँले मुलुकमा उत्पादित कच्चा पदार्थको स्वदेशमा नै प्रशोधन गर्नुपर्ने भन्दै राज्यलाई तत्काल यसबारे निर्णय लिन आग्रह गर्नुभयो । राज्यले तीन वर्ष अगाडि स्वदेशमै रत्न उद्यमको विकास गर्नुपर्ने मनसायले निकासी बन्द गरे तापनि हालसम्म केही काम हुन नसकेपछि मुलुकले यति ठूलो घाटा व्यहोर्नुपरेको हो ।

घरेलु तथा साना उद्योग विभागका महानिर्देशक शत्रुघ्नप्रसाद पुडासैनीले रत्न पत्थर क्षेत्रको स्तरलाई बढाउनका लागि सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो – “रत्न पत्थरको विकास र विस्तारका लागि उद्योग मन्त्रालय गम्भीर छ ।” रत्न पत्थर प्रशोधन गर्ने मेसिन भित्र्याउने काममा विभाग लाग्ने उहाँले स्पष्ट पार्नुभयो ।

नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक विमल नेपालले रत्न तथा पत्थरको बजार राम्रो भए पनि आवश्यक तालिम र प्रशोधन मेसिन नहुँदा यो क्षेत्र ओझेलमा परेको बताउनुभयो ।

नेपाल हस्तकला महासङ्घका अध्यक्ष धर्मराज शाक्यले देशका विभिन्न भागमा रत्न पत्थरहरु भए पनि जनशक्तिको अभाव र यससम्बन्धी स्पष्ट नीति नहुँदा काम गर्न नसकिएको बताउनुभयो । नेपाल हस्तकला महासङ्घ, उद्योग परिषद्का संयोजक रत्नेश्वरी श्रेष्ठले कच्चा पदार्थको नियमित आपूर्ति नहुनु, दक्ष जनशक्तिको अभाव, प्रविधि भित्र्याउन नसक्नुलगायतका समस्याले नेपालको रत्न, पत्थर व्यवसाय सङ्कटमा परेको बताउनुभयो ।

नेपालमा हाल हिमाली क्षेत्रमा अक्वामेरिन, निलम, रुवी, टुर्मालिन महाभारत क्षेत्रमा काइनाइट, क्वार्ज, ज्यास्पर र चुरे क्षेत्रमा क्वार्जाइट, ज्याम्परलगायतका रत्न तथा पत्थर रहेको पाइन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *