‘राज्यले पर्याप्त सुन दिएन’

Post Date : June 13, 2016 | 6:42 pm

गोरखा, ३१ जेठ । जिल्लाका सुनचाँदी व्यवसायीले राज्यले मागअनुसारको सुनचाँदी दिन नसकेको गुनासो गरेका छन् ।

सुनचाँदी बिक्री वितरण गर्दै आएका बैंकले समेत व्यवसायीको मागअनुसार सुनचाँदी उपलब्ध गराउन नसकेको उनीहरुले बताएका छन् । मागअनुसार सुन नपाएपछि बजारमा सधैँ सुनको अभाव हुँदै आएको सुनचाँदी व्यवसायी सङ्घका जिल्ला अध्यक्ष कृष्णबहादुर विश्वकर्मा बताउनुहुन्छ ।

“हामीले मागेअनुसार सुनचाँदी पाएनाँै”, उहाँले भन्नुभयो – “बैंकले पनि सुनचाँदी दिन सकेको छैन । अन्यत्रबाट सुन ल्याउँदा जोखिम बढ्यो ।” सुनचाँदी व्यवसायी महासङ्घको सिफारिस लिएर बैंकमार्फत सुनचाँदी लिँदै आएका व्यवसायीले मागअनुसार नपाउँदा व्यापार घटेको गुनासो गरेका छन् ।

जिल्लाका सुनचाँदी व्यवसायीलाई एक सातालाई एक किलो सुन मात्रै उपलब्ध हुँदै आएको छ । “एक किलो सुन थप गर्न सके बजारको माग धान्न सकिन्छ,” अध्यक्ष विश्वकर्माले भन्नुभयो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष मोहनकुमार विश्वकर्माले व्यवसायीको मागअनुसार सरकारले सुन उपलब्ध गराउन नसकेको बताउनुभयो ।

“हाम्रा व्यवसायीले माग गरेअनुसार सुन उपलब्ध गराएर व्यवसायीको फार्म अनुगमन गर्नुपर्छ,” उहाँले भन्नुभयो । वर्षौंदेखि सुनको अभाव झेल्नुपरेको भन्दै व्यवसायीले सुनको माग पूर्ति गर्न सरकारसँग माग गर्दै आएका छन् । जिल्लामा साना–ठूला गरी करिब ५० वटा सुनचाँदी पसल छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *