राम्चेमा चिज उद्योग

Post Date : June 27, 2016 | 6:42 pm

बाबियाचौर (म्याग्दी), १३ असार । राम्चे गाविस– ४ मा चिज उत्पादन उद्योग सञ्चालन भएको छ ।

स्थानीय यामबहादुर पुनले रु सात लाखको लागतमा चिज उत्पादन गर्ने उद्योग सञ्चालन गर्नुभएको हो । रोजगारीका सिलसिलामा १६ वर्ष भारतीय गोर्खा सेना र आठ वर्ष अफगानीस्तानमा बिताएका उहाँ चिज उद्योगमार्फत स्वरोजगार बन्नुभएको छ ।

चिज उद्योग सञ्चालनका लागि राम्चेको हावापानी अनुकूल र बजारमा सहजै खपत हुने अवस्था छ । घरमा पालेका तीन वटा जर्सी गाईको दूधबाट हाल चार–चार दिनको अवधिमा पाँच किलोका दरले चिज उत्पादन गर्दैआउनुभएको छ ।

पुनले चिज उद्योगमा आफूबाहेक थप दुई जनालाई रोजगारी दिनुभएको छ । गाई, औजार खरिद र पूर्वाधार निर्माण गर्न हालसम्म रु सात लाख लगानी भएको उहाँले बताउनुभयो । अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गका लज तथा बेनी र पोखरामा प्रतिकिलो रु ७०० का दरले चिज बिक्री हुने गरेको छ । पर्यटकीय क्षेत्रमा चिज बढी मात्रामा खपत हुने गरेको छ ।

आम्दानी मनग्य हुन थालेपछि राम्चेका अरु कृषकले पनि गाईपालन गरेर चिज उद्योगलाई दूध बिक्री गर्ने योजना बनाएका छन् । धेरै परिमाणमा उत्पादन हुँदा लागत घटाउन र आम्दानी बढाउन सकिन्छ । राम्चेमा प्रशस्त पाखोबारी रहेकाले भुइघाँस, डालेघाँस खेती गरेर गाईका लागि आहारा आपूर्ति गर्न सकिने सम्भावना रहेको स्थानीय किसान फासबहादुर गर्बुजाको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *