राराका कारण होटल भरिभराउ

Post Date : October 19, 2016 | 5:26 pm

मुगु ३ कात्तिक । रारा ताल हेर्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि यहाँका होटल भरिभराउ छन् ।

रारा घुम्न हवाई तथा स्थलमार्गबाट सहज भएपछि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । दिनहुँ हवाई तथा सडकमार्ग भएर ३०० भन्दा बढी आन्तरिक पर्यटक रारा घुम्न आउने गरेका छन् । नेपालगन्जबाट सोझै जहाजमा रारा पुग्न सकन्छि भने दैलेख, कालीकोट र जुम्ला भएर सडकमार्ग प्रयोग गरी दुई दिनमा रारा पुग्न सकिन्छ ।

जाडो मौसम सुरु भइसकेकाले रारा घुम्न आउने पर्यटकले न्यानो कपडा तथा आवश्यक औषधि साथमा ल्याउनु पर्ने ‘भिजिट कर्णाली टुर एन्ड ट्राभल्स’का सञ्चालक राजु कार्की बताउनुहुन्छ । बस, जिप र मोटरसाइकलमा आन्तरिक पर्यटक घुम्न आउने गरेका होटल व्यवसायी पूर्णादेवी बमले बताउनुभयो ।

रारा ताल छेउमै रहेको रारा राष्ट्रिय निकुञ्जको चमेना गृह, डाँफे होटल र रारा भिलेज रिसोटमा बास बस्न ठाउँ अपुग भएपछि पर्यटक एक घन्टा टाढाको रारा विमानस्थल, सदरमुकाम गमगढी तथा माझघट्टका होटलमा बास बस्ने गरेका रारा राष्ट्रिय निकुञ्जका प्रमुख मोहनचन्द्र विश्वकर्मा बताउनुहुन्छ ।

“दिनहँु २०० भन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन्,” उहाँले भन्नुभयो । पर्यटकको बसाइँ लम्ब्याउन रारा वरपर सुविधा सम्पन्न होटेल, तीव्र गतिको इन्टरनेट सेवा, विद्युत्, डुङ्गा, साइकिलिङ सेवाका लागि पहल गरिनुपर्ने देखिन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *